images

महासंघको १५औँ स्थापना दिवस मार्च १५ मा मनाइने, प्रवास पत्रकारिता पुरस्कार स्थापना

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १५औँ स्थापना दिवस आगामी मार्च १५ तारिखका दिन भव्य रूपमा मनाउने भएको छ। स्थापना दिवसलाई विशेष बनाउँदै महासंघले प्रवासमा सक्रिय नेपाली पत्रकारहरूको योगदानको कदर गर्ने उद्देश्यले ‘प्रवास पत्रकारिता पुरस्कार’ स्थापना गर्ने तथा १० लाख येनको पत्रकार कल्याण कोष सञ्चालनमा ल्याउने महत्वपूर्ण निर्णय गरेको छ।

शाखाको हालै सम्पन्न नियमित दोस्रो बैठकले स्थापना दिवस कार्यक्रमको तयारी तथा व्यवस्थापनका लागि सचिव अर्जुन लामिछानेको संयोजकत्वमा उपसमिति गठन गरेको छ। उपसमितिका सदस्यहरूमा दिनेश थापा, रामचन्द्र गिरी, दुर्गा आचार्य र भवानी भट्ट रहेका छन्। उपसमितिले कार्यक्रमको स्वरूप, व्यवस्थापन र समन्वयको जिम्मेवारी सम्हाल्नेछ।

बैठकले स्थापना दिवसकै अवसरमा प्रदान गरिने गरी ५० हजार रुपैयाँ राशीको ‘प्रवास पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ। प्रवासमा रहेर नेपाली पत्रकारितामा योगदान पुर्‍याउने पत्रकारलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गरिएको महासंघले जनाएको छ।

पुरस्कारलाई पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न मापदण्ड तथा कार्यविधि तयार गर्ने जिम्मेवारी सहित तीन सदस्यीय समिति गठन गरिएको छ। समितिको संयोजकमा खगराज गौतम रहेका छन् भने सदस्यहरूमा दिनेश कुमार थपलिया र इन्दिरा खनाल छन्। समितिले चाँडै कार्यविधि तयार गरी कार्यसमितिमा पेस गर्ने जनाएको छ।

यसैगरी, प्रवासमा कार्यरत पत्रकारहरूको हित र कल्याणलाई ध्यानमा राख्दै १० लाख येनको पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय गरिएको छ। स्वास्थ्य उपचार, आकस्मिक समस्या, विपद् तथा आपतकालीन अवस्थाका बेला पत्रकारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त कोष सञ्चालनमा ल्याइने महासंघले जनाएको छ।

कल्याण कोष सञ्चालन सम्बन्धी कार्यविधि निवर्तमान अध्यक्ष शान्त पहरीको संयोजकत्वमा तयार पारिएको कार्यविधिलाई आवश्यक संशोधन सहित बैठकले पारित गरेको छ। साथै, कोषलाई दीर्घकालीन र प्रभावकारी बनाउन कार्यसमिति सदस्य, साधारण सदस्य, जापानस्थित नेपाली संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई सहयोगका लागि आह्वान गरिएको छ।

बैठकले जापानमा रहेका नेपाली समुदायका समस्या, सरोकार र गतिविधि सम्बन्धी विश्लेषणात्मक तथा तथ्यपरक लेखनलाई प्राथमिकता दिने निर्णय पनि गरेको छ। जापानस्थित पत्रकार तथा विभिन्न क्षेत्रका विज्ञहरूलाई लेख लेख्न आग्रह गर्ने र ती सामग्री महासंघको आधिकारिक फेसबुक पेज तथा वेबसाइटमार्फत प्रकाशन गरिनेछ।

उक्त सामग्रीको सम्पादनका लागि उपाध्यक्ष मनिषा चम्लागाईंको संयोजकत्वमा सम्पादन मण्डल गठन गरिएको छ। सम्पादन मण्डलका सदस्यहरूमा फुर्वा शेर्पा र भुवन भण्डारी रहेका छन्।

यसका अतिरिक्त, महासंघले आधिकारिक फेसबुक पेजमार्फत जनचेतनामूलक सामग्री प्रकाशन गर्ने, महासंघका गतिविधि सुधारका लागि गुगल फर्ममार्फत राय–सुझाव संकलन गर्ने तथा प्रवास पत्रकारिता सम्बन्धी ग्लोबल सम्मेलन आयोजना गर्न पहल अघि बढाउने निर्णय पनि गरेको छ। शाखाले गरेका यी निर्णयहरूले प्रवासमा नेपाली पत्रकारिताको संस्थागत विकास, पत्रकारहरूको हक–हित संरक्षण तथा पेशागत मर्यादा सुदृढ गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

आइतबार​ १८ माघ २०८२ ०२:०८ PM मा प्रकाशित

प्रतिक्रिया