images

ई–जीपी प्रणालीको सुरक्षा र बोलपत्र प्रक्रियामा सहजता माग गर्दै महासंघको ध्यानाकर्षण

  1. काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष  रामजी पन्त (मुकेश) नेतृत्वको प्रतिनिधिमण्डलले सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) का सचिव श्री विश्वबाबु पुडासैनीसँग भेट गरी सार्वजनिक खरिद प्रक्रियामा देखिएका समस्या तथा विद्युतीय खरिद प्रणाली (e-GP) को स्तरोन्नति र सञ्चालनसम्बन्धी विषयमा ध्यानाकर्षण गराएको छ।

भेटका क्रममा महासंघले हालको हार्डकपी बोलपत्र दाखिला प्रक्रियामा देखिएका समस्या, विद्युतीय खरिद प्रणालीमा देखिन सक्ने साइबर सुरक्षा जोखिम, डेटा सुरक्षा तथा प्रणालीगत सुरक्षाका विषयमा कार्यालयको ध्यानाकर्षण गराएको हो।
महासंघले निर्माण व्यवसायीलाई बोलपत्र (Bid) पेश गर्नबाट कुनै पनि प्रकारको अवरोध नहुने तथा सार्वजनिक खरिद प्रक्रिया निरन्तर, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन आग्रह गरेको छ।
त्यसैगरी, विद्युतीय प्रणालीमा प्राविधिक समस्या उत्पन्न हुँदा खरिद प्रक्रिया नै अवरुद्ध हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै हार्डकपी र e-GP दुवै माध्यमबाट बोलपत्र पेश गर्न सकिने वैकल्पिक व्यवस्था गर्न महासंघले माग गरेको छ।
महासंघले अत्यावश्यक बाहेकका नयाँ बोलपत्र प्रक्रिया तत्काल सुरु नगर्न तथा यसअघि प्रकाशित बोलपत्रहरूको म्याद नयाँ प्रणाली सञ्चालनमा नआएसम्म आवश्यकताअनुसार थप गर्न समेत आग्रह गरेको छ।
नयाँ विद्युतीय खरिद प्रणाली कार्यान्वयनमा ल्याउनुअघि आवश्यक कानुनी, प्राविधिक तथा साइबर सुरक्षा परीक्षण पूरा गरी छिटोभन्दा छिटो सुरक्षित प्रणाली सञ्चालनमा ल्याउनुपर्नेमा महासंघले जोड दिएको छ।
छलफलका क्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्यमान प्रणालीलाई आवश्यक प्राविधिक तथा सुरक्षात्मक सुधारसहित ‘भर्सन–२’ का रूपमा स्तरोन्नति गर्ने गरी नयाँ प्रणाली विकास भइरहेको जानकारी गराएको छ। कार्यालयका अनुसार नयाँ प्रणालीको डेमो तथा परीक्षण कार्यसमेत अगाडि बढिरहेको छ।
महासंघ र PPMO बीचको छलफलले सार्वजनिक खरिद प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र सहज बनाउने तथा निर्माण व्यवसायीलाई बोलपत्र प्रक्रियामा सहभागी हुन देखिने प्राविधिक तथा प्रक्रियागत कठिनाइ न्यूनीकरण गर्ने विषयमा केन्द्रित रहेको जनाइएको छ।

शुक्रबार​ १६ असोज २०८३ ०६:५४ PM मा प्रकाशित

प्रतिक्रिया