images

ओसाकामा सम्पन्न ऐतिहासिक नेपाल महोत्सव–२०२५का योगदानकर्ताहरूलाई गल्कोट समाज कान्साईद्वारा भव्य सम्मान

ओसाका, जापान । गल्कोट समाज कान्साईले जापानको ओसाकामा जुन १४ र १५, शनिवार र आइतबार आयोजना गरेको नेपाल महोत्सव–२०२५ का  सहयोगी, प्रायोजक तथा योगदानकारी व्यक्तित्वहरूलाई सम्मान गर्ने विशेष सम्मान कार्यक्रम ओसाकामा सोमबार सम्पन्न गरिएको छ।


नेपाल महोत्सव २०२५ लाई सफल बनाउने उद्देश्यले आर्थिक, भौतिक, नैतिक, सामाजिक तथा सांस्कृतिक रूपमा साथ दिने सम्पूर्ण व्यक्तित्व तथा संस्थाहरूप्रति कृतज्ञता व्यक्त गर्न विशेष सम्मान कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा गल्कोट समाज जापानका संरक्षक, पदाधिकारी तथा सल्लाहकारज्यू, कान्साई क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारीज्यू, कार्यक्रमका प्रमुख अतिथिहरू, व्यवसायिक तथा संस्थागत सहआयोजक, मिडिया प्रतिनिधि, विद्यार्थी, महिला तथा बालबालिका लगायतको सक्रिय सहभागिता रहेको थियो।

२००६ मा स्थापना भएको गल्कोट समाज जापान र २०१२ मा स्थापना भएको गल्कोट समाज कान्साईले सन् २०२५ मा पहिलोपटक अत्यन्तै गौरवपूर्ण र ऐतिहासिक रुपमा नेपाल महोत्सव सम्पन्न गरी जापानस्थित नेपाली समुदायको इतिहासमा अर्को उल्लेखनीय कार्य भएको चर्चा गरिएको छ।

त्यस्तै, नेपाल महोत्सवलाई बहुसांस्कृतिक मंच बनाउने उद्देश्यले विभिन्न संघ–संस्थाबाट प्रस्तुत गरिएका जातीय तथा भेगीय झाँकीहरूले कार्यक्रमलाई झनै आकर्षक बनाएका थिए। सबै किसिमका गीत, नृत्य, झाँकी तथा सांस्कृतिक प्रस्तुतीलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्ने कार्यक्रम प्रस्तोताहरूको समेत प्रशंसा गरिएको थियो।

गल्कोट समाज कान्साईले महोत्सवलाई ऐतिहासिक सफलतामा पुर्‍याउन योगदान पुर्‍याउने सम्पूर्ण जापानी तथा नेपाली समुदाय, प्रायोजक, सहयोगी, स्वयंसेवक तथा सहभागीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि सहकार्य, सद्भाव र भाइचाराको सम्बन्ध अझ सुदृढ रूपमा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको समाजका अध्यक्ष नरबहादुर थापाले बताउनु भयो।

बुधबार १७ मंसिर २०८२ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया