images

‘नवनी संलाप’ मुक्तकीय संवाद सङ्ग्रह लोकार्पण

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६ को अनुदानमा कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित मुक्तकीय संवाद सङ्ग्रह ‘नवनी संलाप’ एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। गोकर्णेश्वर नगरपालिका–६ का साहित्यकार नवराज पुडासैनी ‘ज्योत्स्ना’ र साइप्रसमा कार्यरत साहित्यकार निर्मलादेवी तिम्सिना ‘कान्छी’ बीच सामाजिक सञ्जालमार्फत भएका मुक्तकीय संवादहरूको सङ्ग्रहका रूपमा ‘नवनी संलाप’ प्रकाशित गरिएको हो।
कृतिको लोकार्पण तथा कार्यक्रमको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं गोकर्णेश्वर नगरपालिका–६ का वडा अध्यक्ष नवराज लामाले गर्नुभएको थियो। अभिनव साहित्य समाज, स्रष्टा पदयात्रा नेपाल तथा कल्पतरु प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष विमल अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उमेश तिमिल्सिनाले सञ्चालन गर्नुभएको थियो।
समारोहमा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामा, प्रा. डा. श्रीकृष्णप्रसाद दाहाल, अभिनव साहित्य समाजका अध्यक्ष एवं वरिष्ठ साहित्यकार गोविन्द घिमिरे ‘वेदमणि’, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष तथा सुलेख पत्रिकाका सम्पादक वरिष्ठ साहित्यकार वासुराम पौडेल, वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्यलगायतको विशिष्ट अतिथिका रूपमा सहभागिता रहेको थियो। त्यस्तै, विशेष अतिथिका रूपमा साहित्यकार एवं कलाकार रमेश पौडेल तथा साहित्यकार एवं भैरव स्मृति पुस्तकालयका सचिव तथा साहित्य सदनका कोषाध्यक्ष वसन्त रिमालको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य कल्पतरु त्रैमासिक पत्रिकाका संस्थापक साहित्यकार मुकुन्द अर्यालले राख्नुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नवराज लामाले प्रविधि र सामाजिक सञ्जालको सदुपयोग गर्दै वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमा रहेका स्रष्टाबीच साहित्यका माध्यमबाट सिर्जनात्मक सम्बन्ध स्थापित हुनु प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सामाजिक सञ्जाललाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई सिर्जना र साहित्यिक सहकार्यको प्रभावकारी माध्यम बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।
‘नवनी संलाप’ले स्वदेश र विदेशमा रहेका दुई स्रष्टाबीच सामाजिक सञ्जालमार्फत भएको साहित्यिक संवादलाई पुस्तकाकार रूप दिएको आयोजकले जनाएको छ। प्रविधिको प्रयोगबाट सिर्जित साहित्यिक संवादलाई कृतिका रूपमा प्रस्तुत गरिनुले नेपाली साहित्यमा नयाँ प्रयोगको सुरुआतसमेत भएको सहभागी साहित्यकारहरूले बताएका छन्। समारोहमा विभिन्न साहित्यिक व्यक्तित्व, समाजसेवी तथा स्थानीय महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।

सोमबार २२ भदौ २०८३ ०१:२७ PM मा प्रकाशित

प्रतिक्रिया