अर्घाखाँची - अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ ।
आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो ।
पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा मृत्यु भएको हो भने पदमको अस्पताल लैजाँदै गर्दा चितवनको नारायणघाट नजिक पुग्दा मृत्यु भएको हो । यस्तै घनश्यामको उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
मंगलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा आगो निभाउने क्रममा पाँच जना घाइते भएका थिए । आगलागीबाट २६ वर्षीया अस्मिता बेल्वासे र ३६ वर्षीय माधव बेल्वासेसमेत घाइते भएका छन् । माधवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लैजान सिफारिस गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं लैजान सिफारिस गरिएको थियो ।