कात्तिक २४, काठमाडौं । साहित्य सदन नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘व्यथित साहित्य सम्मान’ यस वर्ष वरिष्ठ साहित्यकार डाक्टर तुलसी प्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ । संस्कृतमा आचार्य, राजनीतिशास्त्रमा स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि गर्नुभएका डा.भट्टराई भाषा–साहित्य एवं सामाजिक–राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । साझा प्रकाशनका पूर्व महाप्रबन्धक, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिवसमेत रहिसक्नुभएका भट्टराईका नेपाली भाषाको अध्ययन–अनुसन्धान, अनुवाद, सम्पादन र पत्रकारिताका साथै कथा, उपन्यास, नियात्रा, जीवनी, निबन्ध, कविता–काव्य र समालोचनासँग गरी तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । भट्टराईले २०२५ सालदेखि अनवरत भाषा–साहित्यका सेवामा समर्पित भई महत्त्वपूर्ण योगदान गरेबापत साहित्य सदन नेपालले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । साहित्य सदन नेपालका अध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेलको अध्यक्षतामो बसेको बैठकले उक्त निर्णय गरेको हो । नगद राशि तिस हजार रुपैया सहितको सम्मान यही कार्तिक २८ गते शुक्रवार दिनको १२ः३० बजे साहित्य सदन नेपालको सभाकक्षमा आयोजना गरिने समारोहमा अर्पण गरिने साहित्य सदनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया