टोकियो, जापान। विदेशी नागरिकका लागि आयोजित जापानी भाषा वक्तृत्व प्रतियोगितामा नेपाली युवा अमित केसीले प्रथम स्थान हासिल गर्दै जापानको परराष्ट्रमन्त्री पुरस्कार प्राप्त गरेका छन्। उत्कृष्ट जापानी भाषा, अभिव्यक्ति र प्रभावकारी प्रस्तुति क्षमताका आधारमा उनी सबै फाइनलिस्टमध्ये सर्वश्रेष्ठ ठहरिएका थिए ।
सन् १९६० देखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिताको ६४औँ संस्करण यहि डिसेम्बर ६ मा आकिशिमा सहरको फोस्टर हलमा सम्पन्न भएको थियो। अन्तर्राष्ट्रिय शिक्षा प्रवर्द्धन केन्द्र (IEC–Nichibei)द्वारा आयोजित यो प्रतियोगिता जापानमा विदेशीहरूलाई लक्षित सबैभन्दा प्रतिष्ठित प्रतियोगितामध्ये एक मानिन्छ।
यस वर्ष १७४ भन्दा बढी विदेशीबाट आवेदन आएपछिको छनोटमा अमेरिका, फ्रान्स, चीन, कोरिया, युक्रेनलगायतका १२ जना प्रतिस्पर्धी फाइनलमा पुगेका थिए। नेपालबाट अमित केसीले प्रतिनिधित्व गरेका थिए।
कार्यक्रममा आकिशिमा सिटीका मेयर, जापानको शिक्षा र परराष्ट्र मन्त्रालयका अधिकारी तथा JLPT आयोजक संस्थाका प्रतिनिधिहरू निर्णायकका रूपमा सहभागी थिए। जापानी शाही परिवारकी राजकुमारी हिसाको ताकामादोको विशेष उपस्थितिले कार्यक्रमलाई अझै भव्य बनाएको थियो।
यस वर्ष अमित केसीले पहिलो पुरस्कार जित्दा फ्रान्सका प्रतिनिधि दोस्रो र चीनका सहभागी तेस्रो भए। यो प्रतियोगिताले विश्वभरका जापानी भाषा सिक्ने युवाहरूलाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय समझदारी, सांस्कृतिक आदान–प्रदान र शिक्षा सहकार्यलाई मजबुत बनाउँदै आएको आयोजक संस्थाले जनाएको छ। यसअघि पनि सन् २००६ मा नेपाली युवती ललित माया महतले यही प्रतियोगितामा प्रथम स्थान हासिल गरिसकेकी थिइन्।
अमित केसी सन २०१७ मा विद्यार्थीको रूपमा जापान आएका हुन्। पुर्ख्यौली घर धादिङ भए पनि जन्म–हुर्काइ काठमाडौँमै भएको हो। जापानी भाषा र भोक्सनल अध्ययनपछि उनी हाल जापानमै कार्यरत छन्। सन २०१८ देखि उनले नेपाकेन, नेसाज र विभिन्न संस्था तथा सहरस्तरीय जापानी भाषा प्रतियोगितामा सहभागिता जनाउँदै एकपछि अर्को पुरस्कार हात पार्दै आएका छन्।
यसअघि ओदावारामा आयोजित जापानी वक्तृत्व प्रतियोगितामा उनले ‘गभर्नर पुरस्कार’ प्राप्त गरेका थिए। उनी जापानी टिभी शो ‘सुकाचु सर्भाइवल’मा सहभागी भई निर्णायक तथा दर्शकबाट उच्च प्रशंसा पनि प्राप्त गर्न सफल भएका थिए।
प्रतिक्रिया