काठमाण्डौँ - धादिङसहित देशका धेरै ठाउँमा डढेलोका कारण वायु प्रदूषण बढ्दो छ ।
पछिल्लो केही दिन यता डढेलोका कारण देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । डढेलोका कारण वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ ।
पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा यहाँको मौसम खासै खुल्न सकेको छैन । बारा, पर्सा, चितवनलगायत देशभरका एक सय ४० स्थानमा लागेको डढेलोका कारण देशको मध्य तथा पूर्वी भागमा वायुको प्रदूषण अत्यधिक बढेको पाइएको ।
विभागका महानिर्देशक शिवलाल तिवारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदूषण बिहान र बेलुकी अत्यधिक बढेको छ ।
वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन, निस्कनै परे मास्क तथा चश्मा लगाउन र सावधानी अपनाउन विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।
डढेलो अझै लागिरहे प्रदूषण अझै बढ्ने भएकाले डढेलो नियन्त्रणका लागि ध्यान दिन उक्त विभागले सबैमा आग्रह पनि गरेको छ ।
अहिले बुटवल, ललितपुरको पाटन, भक्तपुर, मध्यपुर थिमि, काठमाडौँको रत्नपार्क, कीर्तिपुर र हेटौँडाको हावा निकै अस्वस्थकर रहेको मौसमविद्हरूले जनाएका छन् ।
वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स एक्युआईका अनुसार यी क्षेत्रमा वायुको गुणस्तरले जोखिमीको तह नाघेको छ । शून्यदेखि ५० सम्मको मापनलाई सामान्य अवस्था मानिन्छ तर बुटवलमा दुई सय ९२, पाटनमा दुई सय ३२, भक्तपुरमा दुई सय २२, कीर्तिपुरमा एक सय ९१, मध्यपुर थिमिमा एक सय ८७, रत्नपार्कमा एक सय ८६ र हेटौँडामा एक सय ७४ छ । वायुको गुणस्तरको मात्रा एक सय ५१ देखि दुई सयसम्म पुगे मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।