दिनेश थापा / टोकियो
प्रवासमा रहेर पनि मातृभूमिमा आइपरेको प्राकृतिक विपत्तिमा सहयोग गर्ने उद्देश्यले गलकोट समाज जापान, टोकियो क्षेत्रीय समितिले तीज सांगीतिक उत्सव २०२६ बाट संकलित सम्पूर्ण रकम रसुवा बाढीपीडितका लागि सहयोग गर्ने भएको छ। समाजले तीज सांगीतिक उत्सवको टिकट बिक्री तथा कार्यक्रममा सहभागी दर्शकबाट स्वेच्छिक रूपमा प्राप्त रकम गरी कुल ५ लाख १८ हजार १११ जापानी येन रसुवा बाढीपीडितका लागि हस्तान्तरण गर्ने घोषणा गरेको हो।
गलकोट समाज जापान, टोकियो क्षेत्रीय समितिका अध्यक्ष तथा तीज सांगीतिक उत्सवका सभाध्यक्ष ईश्वर बस्नेतका अनुसार कार्यक्रममा दर्शकबाट स्वेच्छिक रूपमा प्राप्त ३० हजार १११ येन र टिकट बिक्रीबाट ४ लाख ८८ हजार येन गरी कुल ५ लाख १८ हजार १११ येन संकलन भएको हो।
रसुवा जिल्लामा आएको प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति हुनुका साथै सयौँ परिवार प्रभावित भएको अवस्थामा संस्थाले विगतदेखि आयोजना गर्दै आएको तीज विशेष कार्यक्रमलाई यसपटक सामाजिक उत्तरदायित्वसँग जोडिएको अध्यक्ष बस्नेतले बताए। उनका अनुसार संकलित रकम रसुवाका सबैभन्दा बढी प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी राहत तथा आवश्यक सहयोगका लागि हस्तान्तरण गरिनेछ।
कार्यक्रम संयोजक गोम बुढाथोकीले तीज नेपाली समुदायका लागि सांस्कृतिक उत्सव र मनोरञ्जनको अवसर मात्र नभई दुःखमा परेका नेपालीसँग हातेमालो गर्ने अवसरसमेत भएको बताए। कार्यक्रममा टिकट खरिद गरी सहभागी भएका प्रत्येक दर्शकको योगदानलाई रसुवा बाढीपीडितको राहतसँग जोडिएको उनले बताए।
त्यस्तै, समाजका सचिव चतुर्भुज सापकोटाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने दर्शक, कलाकार, सहयोगदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै संस्थाले मनोरञ्जनसँगै मानवता र सामाजिक उत्तरदायित्व’**लाई प्राथमिकतामा राखेको बताए। तीजको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको उत्सवसँगै मानवीय सेवाको सन्देशसमेत प्रवाह भएको उनले बताए। रसुवा बाढीपीडितका लागि गरिने सहयोगले विपत्तिमा परेका परिवारलाई राहत पुग्नुका साथै प्रवासमा रहेका नेपाली समुदायको मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय भावनालाई थप मजबुत बनाउने विश्वाससमेत उनले व्यक्त गरे।
गलकोट समाज जापानले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो सक्रियता निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया