ओसाका, जापान । जापानको कन्साई क्षेत्रमा आयोजना हुन लागेको ‘नेफिन कल्चरल फेस्टिभल कन्साई २०२६’को सबै तयारी पुरा भएको आयोजकले जनाएको छ। नेपाल आदिवासी जनजाति महासंघ, जापान क्षेत्रीय समिति कन्साईको प्रस्तुतिमा आगामी सेप्टेम्बर १८ र १९, २०२६ मा दुईदिने सांस्कृतिक महोत्सव आयोजना हुँदैछ। महोत्सव ह्योगो प्रिफेक्चरको अमागासाकी सिटीस्थित हान्शिन अमागासाकी स्टेशन नजिकैको सेन्ट्रल पार्क, कान्दा नाकादोरीमा हुनेछ।
फेस्टिभल दुवै दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने र प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ। फेस्टिभलको मुख्य आकर्षणका रूपमा नेपालबाट आमन्त्रित चर्चित कलाकार रामजी खाँड, देवी घर्ती, टीका सानु र सम्झना लामिछाने लगायतका कलाकारको सांगीतिक प्रस्तुति रहनेछ। साथै जापानमा रहेका नेपाली तथा जापानी कलाकारहरूको समेत विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
फेस्टिभलमा नेपालका विभिन्न आदिवासी जनजातिका मौलिक नृत्य, संगीत, परम्परागत भेषभूषा, नेपाली खानाका परिकार, हस्तकला, सांस्कृतिक स्टल लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ। नेपालका हिमाल, पहाड र तराई–मधेशमा बसोबास गर्ने विभिन्न समुदायको भाषा, कला, संस्कृति र मौलिक पहिचानलाई एउटै स्थानमा प्रस्तुत गर्ने गरी महोत्सवको तयारी गरिएको आयोजकले जनाएको छ।
फेस्टिभल नेपाली समुदायमा मात्र सीमित नरही जापानी तथा अन्य देशका नागरिकलाई समेत नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानबारे जानकारी गराउने महत्वपूर्ण अवसर बन्ने आयोजकको विश्वास छ।
यसैबीच, महोत्सवबाट प्राप्त मुनाफाको रकम रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको सहयोगार्थ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिने आयोजकले जनाएको छ।
आयोजकले जापानमा रहेका नेपाली समुदाय, जापानी नागरिक तथा नेपाली कला र संस्कृतिमा रुचि राख्ने सबैलाई परिवार तथा साथीभाइसँग महोत्सवमा सहभागी भई नेपालको मौलिक संस्कृति, कला र पहिचानको संरक्षण तथा प्रवर्धनमा साथ दिन आग्रह गरेको छ।
प्रतिक्रिया