images

जापानको हाकोनेमा भलिबल प्रतियोगिता आयोजना गर्ने

टोकियो , नेपाल कल्याण समाज जापानले आगामी जुन १६ मा जापानको प्रसिद्ध पर्यटकीय क्षेत्र हाकोने मा पर्यटन प्रवर्द्धन र आपसी एकताका लागि भव्य राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाकोनेमा हुन लागेको उक्त प्रतियोगिताले खेलकुदसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। ताल, तातोपानीका मुहान तथा विश्वप्रसिद्ध ‘कालो अण्डा’ का लागि चिनिने ओवाकुदानी क्षेत्रको आकर्षक वातावरणमा खेलाडीहरूले प्रतिस्पर्धासँगै प्रकृतिको आनन्द लिन पाउनेछन्। ज्वालामुखी ग्यासका कारण कालो देखिने र आयु बढाउने विश्वास गरिएको ‘कालो अण्डा’ पर्यटकहरूको विशेष आकर्षण मानिन्छ।

आयोजक समितिका अध्यक्ष बिष्णु शर्माले प्रतियोगिताको मुख्य उद्देश्य जापानमा रहेका नेपाली युवाहरूलाई एकताबद्ध गर्दै खेलमार्फत आपसी सम्बन्ध सुदृढ बनाउनु रहेको बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमहरूले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुर्‍याउनेछन्।

महासचिव खेमलाल सापकोटाले सहभागी टोलीहरूको दर्ता, खेल तालिका तथा सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्दै तयारी तीव्र पारिएको जानकारी दिनुभयो। संस्थाले यस वर्षको प्रतियोगितालाई विगतभन्दा अझ भव्य र व्यवस्थित बनाउने योजना अघि सारेको छ।

खेलकुद संयोजक मनोज केसीका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद ३ लाख ११ हजार १ सय ११ येन र उपविजेताले २ लाख ११ हजार १ सय ११ येन पुरस्कार प्राप्त गर्नेछन्। साथै ट्रफी, मेडल र प्रमाणपत्रका साथै उत्कृष्ट पाँच विधाका खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ।

संस्थापक संरक्षक जोय बहादुर खड्काले सेइसा लेक एरिना हाकोने मा आयोजना हुने यो प्रतियोगिताले खेल, पर्यटन र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

कार्यक्रम जुन १६ तारिख बिहान ९ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

 

शनिबार ५ बैशाख २०८३ ०२:२७ PM मा प्रकाशित

प्रतिक्रिया