ओसाका, जापान । ओसाकास्थित “ब्लु ब्वाइज युनियन”ले यही अगस्ट २४ तारिख आईतबार विविध कार्यक्रमका साथ आफ्नो प्रथम वार्षिकोत्सव समारोह आयोजना गर्ने भएको छ। संस्थाले वार्षिकोत्सवको अवसर पारेर नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज समेत विशेष रूपमा मनाउने तयारी गरेको छ।
संस्थाका सचिव प्रदीप खड्काका अनुसार, वार्षिकोत्सव कार्यक्रममा तीज विशेष सांस्कृतिक प्रस्तुति, संस्थामा आर्थिक रूपमा सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान, नयाँ सदस्य प्रवेश, साथै संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने योजना रहेको छ। उनले यो कार्यक्रमको उद्देश्य जापानमा रहेका नेपाली समुदायबीच मौलिक कला र संस्कृतिको जगेर्ना गर्नु रहेको बताए।
संस्थाका अध्यक्ष वासुदेव लामिछानेका अनुसार, स्थापनाको पहिलो वर्षमा अपेक्षाअनुसार काम पूरा गर्न नसके पनि आगामी दिनमा जापानमा रहेका नेपालीहरूलाई लक्षित गर्दै विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य रहेको छ। उनले कान्साई क्षेत्रमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुलाई निमन्त्रणापत्र पठाइसकिएको र पत्र नपुगेको खण्डमा यसै समाचारलाई आधार मानेर उपस्थित हुन अनुरोध गरेका छन् ।
प्रतिक्रिया