images

शिक्षालाई श्रम र उत्पादनसँग जोडने प्रयत्नमा डहु मावि 

रामेछाप । रामेछापको नमुना विद्यालयको रूपमा रहेको डहु मावि वेथानले विद्यार्थीलाई कृषि कर्म सिकाउन कृषि क्षेत्रमा पनि हात हालेको छ । कृषिलाई आधुनिकीकरण गर्दै जाने उद्देश्यले पहिलो चरणमा परीक्षणको कार्य सुरु गरेको विद्यालयका प्रधानाध्यापक दलबहादुर बलले जानकारी दिए ।‘परीक्षणका लागि ११ वटा बङ्गुर, करिब चार सयवटा गिरिराज कुखुरा हालेका छौँ, २७ वटा भन्दाबढी बोधीचित्त रोपेको छौँ, करिब तीन रोपनी जग्गामा अग्र्यानिक तरकारी खेती सुरु गरेका छौँ’, उनले भने । शिक्षालाई श्रम र उत्पादनसँग जोडने प्रयत्न स्वरूप सो काम थालिएको उनले बताए । अब  छिट्टै चार रोपनी जति जग्गा लिजमा लिएर कृषि क्षेत्र विस्तार गरिने उनले जानकारी दिए ।‘व्यवस्थापनको पक्षमा थप आधुनिकीकरण गरी कृषि अध्ययन केन्द्रको रूपमा डहु माविको परिचय दिने कार्ययोजनामा छौँ’, उनले भने । डहु मावि रामेछाप जिल्लाको मात्र होइन देशकै नमुना सामुदायिक विद्यालयको रूपमा विकास हुँदै गएको छ । रामेछापको दुर्गम गाउँमा सञ्चालन भएको सो विद्यालय विद्यार्थी, अभिभावक र शैक्षिक क्षेत्रमा चासो राख्नेको लागि आकर्षणको केन्द्र बनेको छ । आवासीय रूपमा कक्षा सञ्चालन गरेको सो विद्यालयमा करिब ५ सय विद्यार्थी अध्ययन गर्दछन् । १६ वटा भन्दा बढी जिल्लाका विद्यार्थीले विद्यालयको आवासमा बसेर अध्ययन गरिरहेका प्रधानाध्यापक बलले बताए । रामेछापको सदरमुकाम मन्थली, काठमाडौं, ललितपुर र भक्तपुरबाट समेत धेरै सङ्ख्यामा सो विद्यालयमा पढ्नको लागि विद्यार्थीहरू गएका छन् । बोर्डिङ स्कुलमा पढ्दै गरेका विद्यार्थीलाई समेत त्यहाँबाट छुटाएर अभिभावकहरूले पढाउनको लागि डहु माविमा पु¥याउने गरेका छन् । विद्यालय तहको पढाइको मापन गर्ने अन्तिम परीक्षा एसइई परीक्षामा डहु माविले उत्कृष्ट नतिजा ल्याउने गरेको छ । सो विद्यालयका विद्यार्थीले एसइई परीक्षामा पटक पटक चार जिपिएसम्म प्राप्त गरेका छन् ।अधिकांश विद्यार्थीहरू तीन जिपिएभन्दा माथिको ग्रेड ल्याएर उत्तीर्ण हुने गरेका छन् । यसले गर्दा पनि सो विद्यालय प्रति विद्यार्थी र अभिभावकको चासो बढेको छ । सो विद्यालयमा सञ्चालन भएको शैक्षिक गतिविधिको अध्ययन अवलोकन गर्न दैनिक जसो देशका विभिन्न भागबाट शिक्षक, विद्यार्थी, जनप्रतिनिधिका साथै शिक्षा क्षेत्रमा चासो राख्ने सरोकारवालाहरू आउने गर्दछन् । शिक्षक महासंघको काठमडौं केन्द्रित आन्दोलनको कारण अहिले भने सो विद्यालय पनि प्रभावित भएको छ । शिक्षक आन्दोलनको कारण यस शैक्षिकसत्रमा विद्यालय सञ्चालनमा आएको छैन ।

आइतबार​ ७ बैशाख २०८२ ११:४३ AM मा प्रकाशित

प्रतिक्रिया