एमाले महाधिवेशनले दियो शक्ति र समावेशीताको स्पष्ट सन्देशनिर्वाचनका लागि पूर्ण तयारीमा छ एमाले, गालीको राजनीति अस्वीकार्य स् शेरबहादुर तामाङसन्तोषी रावल, नेपाल न्यूज बैंककाठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट प्रस्तावित प्रतिनिधिसभा उम्मेद्वार शेरबहादुर तामाङले पार्टीको पछिल्लो महाधिवेशनले एमाले अझै सशक्त, समावेशी र जनआधारित पार्टी भएको स्पष्ट सन्देश दिएको बताए ।भदौ २३–२४ मा भएको विध्वंशपछि पार्टीलाई पुन जनतामाझ परीक्षण गर्नुपर्ने आवश्यकता महसुस भएकाले नियमित समयभन्दा अगाडि महाधिवेशन गरिएको उनको भनाइ छ । देशव्यापी कार्यक्रममार्फत जनमत जाँचेर मात्रै महाधिवेशनमा जाने निर्णय गरिएको उनले बताए ।भक्तपुरको सल्लाघारीमा सम्पन्न महाधिवेशन उद्घाटन सत्रमा देखिएको विशाल जनसहभागिताले ‘पुराना पार्टी समाप्त भए’ भन्ने भ्रम चिर्दै एमाले अझै भूगोलमै मजबुत रहेको प्रमाणित भएको तामाङको दाबी छ ।सामाजिक सञ्जालमा देखिने भ्यु र वास्तविक जनसमर्थनबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै उनले एमाले गूगलमा होइन, भूगोलमा बसेको पार्टी भएको बताए ।महाधिवेशनले युवापुस्ताको प्रतिनिधित्वलाई संस्थागत गरेको उल्लेख गर्दै उनले अन्डर–४० उमेर समूहलाई अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था ऐतिहासिक भएको बताए ।जनसंगठनदेखि केन्द्रीय कमिटीसम्म युवा, महिला, जनजाति, दलित, मधेसी, थारु, अल्पसंख्यक र पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको उनको भनाइ छ । यसरी निर्वाचित केन्द्रीय कमिटी समावेशीताको नमुना बनेको उनले बताए ।तामाङले महाधिवेशनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको चौतर्फी आक्रमणलाई राजनीतिक रूपमा खारेज गरेको दाबी गरे। अध्यक्ष लोकप्रियताका कारण मात्रै टिकेको होइन, पार्टी र राष्ट्रको आवश्यकताका रूपमा पुन स्थापित भएको सन्देश महाधिवेशनले दिएको उनको भनाइ छ । “एमालेको मात्र होइन, राष्ट्रकै आवश्यकता केपी ओली हो भन्ने कुरा स्थापित भएको छ,” उनले भने ।राजनीतिक दलहरूमा हुने विभाजनलाई दुर्भाग्यपूर्ण बताउँदै तामाङले मुख्य दल फुट्दा देशमै नकारात्मक असर पर्ने इतिहास रहेको उल्लेख गरे । नेपाली कांग्रेसमा देखिएको पछिल्लो विभाजन असामान्य र बाह्य हस्तक्षेपको परिणाम भएको उनको आरोप छ ।भदौ २३–२४ को विध्वंशलाई नेपाली जनताले समर्थन नगरेको र त्यसको जिम्मा कसैले नलिएको भन्दै, त्यस्ता घटनाबाट जन्मिने पार्टीहरूले निर्वाचनबाटै वास्तविकता भोग्ने उनले बताए ।सरकार गठन असंवैधानिक तरिकाले भएको दाबी गर्दै एमाले संसद पुनःस्थापनाको पक्षमा उभिएको उनले स्मरण गराए । तर निर्वाचनको प्रक्रिया अगाडि बढेपछि एमाले प्राविधिक तयारीमा सहभागी हुँदै आएको र अहिले पूर्ण रूपमा निर्वाचनका लागि तयार रहेको उनले बताए । सबै उम्मेदवार तय भइसकेको र फागुन २१ मै निर्वाचन हुनुपर्ने एमालेको अडान रहेको उनले स्पष्ट पारे ।महिला प्रतिनिधित्वको सवालमा संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत व्यवस्था समानुपातिक प्रणालीमार्फत पूरा गरिने तामाङले बताए । प्रत्यक्षतर्फ महिलाको संख्या अपेक्षाकृत कम हुनु सामाजिक संरचनाको परिणाम भएको उल्लेख गर्दै उनले समाज परिवर्तन एकैचोटि सम्भव नहुने बताए । तर सुधारको दिशामा समाज अघि बढिरहेको र महिला नेतृत्व विस्तार हुँदै जाने उनको विश्वास छ ।नेपाली जनता आक्रोशित छन् भन्ने कथनलाई पूर्ण रूपमा अस्वीकार गर्दै तामाङले जनताले स्वतःस्फूर्त रूपमा हिंसा नगरेको जिकिर गरे । भदौ २३–२४ को घटनाले देशलाई आर्थिक रूपमा चार–पाँच खर्ब बराबरको क्षति पु¥याएको र विकासको गति करिब २० वर्ष पछाडि धकेलिएको उनले बताए । यद्यपि नेपाल प्राकृतिक स्रोतले सम्पन्न देश भएकाले निराश नहुन आग्रह गर्दै, गाली–गलौज र विभाजनको राजनीति होइन, सौहार्दपूर्ण प्रतिस्पर्धामार्फत मुलुक अघि बढ्नुपर्नेमा उनले जोड दिए
प्रतिक्रिया