ओसाका, जापान। प्रख्यात नेपाली लोक–रक ब्याण्ड ‘नेपथ्य’ ब्याण्डले जापानको ओसाकामा दिएको अन्तिम प्रस्तुति संगै यस वर्षको जापान यात्रा सम्पन्न गरेको छ। जापानको कान्साई क्षेत्रमा दोस्रो पटक माइला गाईजद्वारा आयोजित कन्सर्ट नेपाली समुदायको ऐतिहासिक जमघटका रूपमा दर्ज भएको आयोजक टोलिले जनाएको छ। ओसाकाको अन्तर्राष्ट्रियस्तरको जेप ओसाका बेसाईडमा हलमा भएको कन्सर्टमा उल्लेख्य संख्यामा नेपाली दर्शक उपस्थित थिए।
यो पटक जेप ओसाका बे साइड’ हलमा भने नेपथ्यको सम्झना लामो समयसम्म रहने भएको छ। उत्कृष्ट र गर्व गर्नलायक प्रस्तुति दिने समूहको सम्झना यसरी फ्रेममा राखेर भित्तामा सजाउने परम्परा विश्वका ठूला हलहरूमा रहेको छ। हल व्यवस्थापनले नेपथ्यको हस्ताक्षरसहितको सन्देश मागेको छ, जुन हलको ‘वाल अफ फेम’ मा झुण्ड्याइनेछ।
आयोजक टोलिका सदस्य मदनजंग केसीका अनुसार, सोमबार मुख्य गेट पाँच बजे खुल्नासाथ दर्शकहरू खचाखच भिडिँदै हलमा प्रवेश गरेका थिए। गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्यले मञ्च प्रवेशसँगै ‘कोशीको पानी, यो जिन्दगानी’ गीतबाट प्रस्तुति सुरु गरेको थियो। कन्सर्टभरि अमृत गुरुङ अत्यन्त उत्साहित देखिन्थे र समय–समयमा दर्शकलाई नेपाल सम्झाइरहेका थिए। प्रस्तुतीकै क्रममा उनले जापानमा अध्ययन तथा सीप सिकिरहेको नेपाली युवालाई स्वदेश फर्केर नेपालको सेवा गर्न आग्रहसमेत गरे।
‘यो जिन्दगानी’ गीतपछि अमृतले नेपाली समाज परोपकारी भावनाले भरिएको भन्दै विदेशमा आर्जित केही हिस्सा मानव हितका गतिविधिमा खर्च गर्न सबैलाई अनुरोध गरे। ओसाकामा मात्र होइन, हिरोसिमा, क्योटो, नारा, कोबे लगायत आसपासका शहरबाट पनि ठूलो संख्यामा नेपाली दर्शक कन्सर्टमा उपस्थित थिए। करिब साढे दुई घन्टासम्म चलेको कार्यक्रम ‘रातो र चन्द्रसूर्य’ गीतसँगै समापन भएको थियो।
कार्यक्रम समाप्त भएपछि पनि आयोजक तथा स्वयंसेवकहरू हलको सरसफाइमा जुटिरहेका देखिन्थे। ओसाकामा ऐतिहासिक कन्सर्ट सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आयोजक टोलिका संयोजक पूर्ण गर्बुजाले भने, “यो हाम्रो ठूलो सपना थियो, जुन आज साकार भयो। सबैलाई हृदयदेखि धन्यवाद।”



प्रतिक्रिया