काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
उता, राति भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।