गाउँ र प्रवासमा रहेका युवाको सहकार्यमा आठघरेमा सडक बत्ती जडान, ‘आफ्नो गाउँ आफैं बनाऔं’ अभियान सफल

ठोरी (पर्सा), साउन ९ — पर्साको ठोरी गाउँपालिका–५ स्थित आठघरे गाउँमा गाउँ तथा विदेशमा रहेका युवाहरूको संयुक्त पहल, आर्थिक सहयोग, श्रमदान र समन्वयमा सडक बत्ती जडान गर्ने कार्य सम्पन्न भएको छ। लामो समयदेखि सडक बत्तीको अभावका कारण स्थानीयवासीले रातिको समयमा आवतजावत गर्न कठिनाइ भोग्दै आएका थिए। अन्धकारका कारण सुरक्षा जोखिमसमेत बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै ‘आफ्नो गाउँ आफैं बनाऔं’ अभियानअन्तर्गत गाउँ र प्रवासमा रहेका आठघरेवासी युवाहरू एकजुट भएर सडक बत्ती जडान अभियान सञ्चालन गरेका हुन्।

अभियानअन्तर्गत गाउँका विभिन्न स्थानमा सडक बत्ती जडान गरिएपछि रातिको आवतजावत सुरक्षित र सहज हुने, गाउँको वातावरण थप व्यवस्थित बन्ने तथा स्थानीयवासीले प्रत्यक्ष लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ। अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने गाउँका युवा, विदेशमा रहेका आठघरेवासी, स्थानीयवासी, शुभेच्छुक तथा अन्य सहयोगीहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेका छन्।

स्थानीय युवाहरूले यो अभियानलाई सडक बत्ती जडानमै सीमित नराखी आगामी दिनमा गाउँदेखि प्रधानटोल जोड्ने पुल निर्माण, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सरसफाइ तथा अन्य विकास निर्माणका योजनामा समेत गाउँ र प्रवासबीचको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले गाउँको विकास कुनै एक व्यक्ति वा निकायको जिम्मेवारी मात्र नभई गाउँमा बसोबास गर्ने र विदेशमा रहेका सम्पूर्ण आठघरेवासीको साझा दायित्व भएको उल्लेख गर्दै सामूहिक सहभागितामार्फत समृद्ध गाउँ निर्माणको अभियानलाई अझ सशक्त बनाउँदै लैजाने बताएका छन्।