सर्लाही । सर्लाहीको मलङ्वा नगरपालिकामा दादुरा सङ्क्रमण देखिएपछि प्रभावित क्षेत्र लक्षित गर्दै विशेष खोप अभियान सुरु गरिएको छ । हालसम्म ३ हजार ५४५ जना बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाइसकेका छन् ।मलङ्वा नगरपालिका – ३ मा २३ जना बालबालिकामा दादुरा पुष्टि भएपछि उक्त वडा सहित त्यससँग सिमाना जोडिएका वडा नम्बर २, ४, ८, ९ र १० मा खोप अभियान सञ्चालन गरिएको हो । छ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै अभियान अघि बढाइएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।स्वास्थ्य कार्यालयका अनुसार अभियानमार्फत ६ वटा वडाका करिब ८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । गत पुस २४ गते मलङ्वा–३ स्थित मुस्लिम टोलका पाँच वर्षीय बालकमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको थियो । परीक्षणबाट दादुरा पुष्टि भएपछि सम्पर्कमा आएका अन्य बालबालिकाको जाँच गर्दा थप २२ जनामा पनि सङ्क्रमण भेटिएको हो ।नगर स्वास्थ्य शाखाका अनुसार सङ्क्रमित सबै बालबालिका छ महिनादेखि ११ वर्ष उमेर समूहका छन् । हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ। त्यसपछि परिवार कल्याण महाशाखा टेकुको निर्देशन र राष्ट्रिय खोप समन्वय समितिको निर्णय अनुसार प्रभावित क्षेत्रमा विशेष खोप अभियान सुरु गरिएको हो ।अभियानलाई प्रभावकारी बनाउन मधेस प्रदेश स्वास्थ्य मन्त्रालय, मलङ्वा नगरपालिका, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ लगायतका निकायबीच समन्वय भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोपसँगै सङ्क्रमण खोजी, सचेतना कार्यक्रम, मास्क प्रयोग, दूरी कायम गर्न तथा लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ ।यही माघ १६ गतेसम्म लक्षित सबै बालबालिकालाई खोप लगाइसक्ने लक्ष्यसहित स्वास्थ्यकर्मीको टोली विद्यालय र मदरसामा पुगेर खोप दिइरहेका छन् । नियमित खोप लगाइसकेका बालबालिकालाई समेत सुरक्षित रहन विशेष अभियानमा सहभागी गराउन अभिभावकलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया