images

एनपीएल हेर्न कीर्तिपुर पुगेका क्रिकेट स्टार अख्तर भन्छन् : पाकिस्तानी बोर्डसँग कुरा राख्छु

 नेपालीको क्रिकेट मोहलाई नजिकबाट नियालेका क्रिकेट स्टार शोएब अख्तरले जारी नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा पाकिस्तानी खेलाडीले सहभागी हुन नपाएको विषयलाई पाकिस्तानी क्रिकेट बोर्ड (पीबीसी) समक्ष कुरा राख्ने बताएका छन् । 

पाकिस्तान क्रिकेट बोर्डले विदेशी क्रिकेट लिग खेल्न अनुमति माग्ने आफ्ना खेलाडीले २५ हजार अमेरिकी डलर बुझाउनुपर्ने सर्त अगाडि सारेपछि एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको थियो । जसका कारण कर्णाली याक्सका तर्फबाट एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी टी–२० कप्तान शाहिबजादा फरान फर्कन बाध्य भएका थिए । यसैगरि अन्य टिमले भित्र्याउने तयारी गरेका खेलाडी समेत आउन पाएनन् ।   पहिलो पटक नेपाल आएका राहुलपिण्डी एक्सप्रेस नामले चर्चित अख्तरले मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाला अवलोकनपछि नेपाल क्रिकेट संघका पदाधिकारीसँग कुराकानीका क्रममा यस्तो बताएका हुन् । 

‘यस्तो कुराले मलाई दुःखी बनाएको छ । मैले यसबारे विस्तृत थाहा पाएको छैन तर यहाँबाट फर्केपछि पीसीबीसँग अवश्य कुरा राख्नेछु,’ अख्तरलाई उधृत गर्दै क्यानका उपाध्यक्ष रोशन सिंहले नेपाल न्यूज बैंकसँग भने ।

साथमा आफूले नेपाल भ्रमणमा देखेको क्रिकेट मोह, बढ्दो पूर्वाधार क्षमताबारे पनि पीबीसीलाई जानकारी गराउने अख्तरले बताए । यसअघि टेलिभिजन पर्दामा असाधारण बलिङ गर्दै गरेको देखेका नेपाली क्रिकेट समर्थकहरू अख्तरलाई प्रत्यक्ष देखेपछि उत्साहित भएका थिए । जनकपुर बोल्ट्स र कर्णाली याक्स बिच खेल भइरहेका बेला कीर्तिपुर पुगेका अख्तरले रंगशाला परिसर घुम्दै समर्थकलाई अभिवादन गरेका थिए ।  फ्डलाइटको उज्यालोमा दर्शकको क्रेज हेरेपछि उनले ‘नेपालले सानो ठाउँमा उत्कृष्ट क्रिकेट पस्किरहेको छ’ भन्ने प्रतिक्रिया दिएका थिए । त्यसक्रममा नेपाली क्रिकेटको भविष्य राम्रो रहेको निष्कर्ष सहजै निकाल्न सकिने समेत अख्तरले प्रतिक्रिया दिएका थिए ।  टेलिभिजनमा खेलका दौरानमा आक्रामक देखिने अख्तर कीर्तिपुरमा भने सहज देखिनुभएको उपाध्यक्ष सिंहले बताए । 

क्यानका अध्यक्ष लगायतका पदाधिकारीसँगको कुराकानीमा अख्तरले नेपाली क्रिकेटलाई सहयोग गर्न आफू तयार रहेको समेत प्रतिवद्धता जनाएका थिए । 

बिहीबार १३ कात्तिक २०८३ ०१:३२ PM मा प्रकाशित

प्रतिक्रिया