लिग २ खेल्न क्यानका कोषाध्यक्षसँगै दुबई गए सन्दीप

काठमाडौं - सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न संयुक्त अरब इमिरेट्स (युएई) गएका छन् । दुबईमा जारी खेलमा सामेल हुन लामिछाने बुधबार युएई प्रस्थान गरेका हुन् ।

सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि उनी दिउँसो ३ बजे युएई गएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा सन्दीप गएका हुन् ।

उनले नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने क्यानले जनाएको छ । क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ ।

टिम व्यवस्थापनले चाहेमा उनले बिहीबार युएईविरुद्धकै खेल खेल्न सक्नेछन् ।