images

सीमा समस्या समाधानका लागि कूटनीतिक पहल आवश्यक : बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले नेपालको सीमा सम्बन्धी समस्या समाधानका लागि सरकारले कूटनीतिक पहललाई तीव्रता दिनुपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सीमा सम्बन्धी विषयमा आफ्नो पार्टीको धारणा स्पष्ट रहेको उल्लेख गर्दै मिचिएको नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक माध्यमबाट पहल गर्नुपर्ने बताए।


उनले दशगजा क्षेत्रमा दुवैतर्फबाट भू–उपयोग भइरहेको विषयमा विभिन्न रिपोर्टहरू सार्वजनिक भइरहेका उल्लेख गर्दै त्यसलाई अन्तर्राष्ट्रिय अभ्यास र कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गरे। ‘हाम्रो सीमाको समस्या छिटो समाधान गर्नुपर्छ । त्यसका लागि कूटनीतिक तवरबाट पहल आवश्यक छ,’ उनले भने ।
बुर्लाकोटीले प्रधानमन्त्रीले पनि सीमा सम्बन्धी विषय अन्तर्राष्ट्रिय तहमा छलफल गरेर समाधान खोज्नुपर्ने धारणा राखेको उल्लेख गर्दै त्यसले समस्या समाधानका लागि थप आधार तयार गरेको बताए ।


उनका अनुसार रास्वपाले यसअघि नै नेपालको मिचिएको भूमि फिर्ता हुनुपर्ने र त्यसका लागि सरकारले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने अडान सार्वजनिक गरिसकेको छ। सीमा सम्बन्धी विषयमा सरकारबाट आवश्यक धारणा र कदम सार्वजनिक हुने विश्वास समेत उनले व्यक्त गरे । यसैबीच उनले संसद् सञ्चालनका विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच लामो छलफल भएको जानकारी दिँदै संवादलाई निरन्तरता दिइने बताए । प्रतिपक्षले उठाएका विषयमा सहमति खोज्ने प्रयास जारी रहने र संसद्लाई नियमित प्रक्रियामा फर्काउने विषयमा राजनीतिक तहमा छलफल भइरहने उनको भनाइ छ।

मङ्गलबार १९ जेठ २०८३ ०६:२२ PM मा प्रकाशित

प्रतिक्रिया