सिन्धुली - सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दासमेत अझैसम्म ती अधिकारीहरूलाई भेट्टाउन सकिएको छैन ।
सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नंको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।
भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । उनीहरू सबै बेपत्ता छन् । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफँै पौडिएर निस्किएका थिए ।
खोजी जारी भए पनि हालसम्म बेपत्ता व्यक्ति र गाडी भेटिएको छैन । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोलीले शुक्रबारदेखि खोजी निरन्तर गरिरहेको छ ।