काठमाडाैँ । बागमती प्रदेशको राजधानी हेटौंडामा निर्माण कार्यमा खटिएका महिला निर्माण व्यवसायी र स्थानीय जनप्रतिनिधिबिचको विवादका कारण निर्माण कार्य ठप्प भएको छ। दोलखास्थित काली भुमे कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.का सञ्चालक मञ्जु लामा र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलबिच भएको भनाभन र हात हालाहालको घटनाले बागमती प्रदेशभर निर्माण व्यवसायीलाई त्रसित बनाएको छ।
शहरी विकास तथा भवन कार्यालय, मकवानपुर र काली भुमे कन्स्ट्रक्सनबिचको ठेक्का सम्झौता अन्तर्गत "मकवानपुरका विभिन्न सडकहरूको निर्माण कार्य" (ठेक्का नं. UDBO/MAK/NCB/WORKS/२०७९/८०–१२) को कार्य सम्पन्न गर्ने क्रममा विवाद उत्पन्न भएको हो। बागमती प्रदेश निर्माण व्यवसायी महासंघका अनुसार वडा अध्यक्ष सिग्देलले नगर प्रहरी बोलाई महिला व्यवसायी मञ्जु लामामाथि अपशब्द प्रयोग गर्दै काम रोक्न दवाव दिएका थिए। स्थिति बढ्दै जाँदा हात हालाहालसम्मको अवस्था सिर्जना भई लामा जिल्ला प्रहरी कार्यालय, मकवानपुरको हिरासतमा पुगेकी हुन्।
“निर्माण कार्यको सन्दर्भमा सम्झौतावद्ध कार्यालयसँग समन्वय गरेर काम अगाडि बढाउनुपर्नेमा जनप्रतिनिधि स्वयंले व्यवसायीलाई होच्याउने, हातपात गर्ने र प्रहरीसम्म पुर्याउनेजस्ता क्रियाकलापले कानुनी राज्यको उपहास भएको महसुस गराएको छ,” महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा यस्ता घटनाले व्यवसायीको मनोबल गिराउने र देशमा व्यवसाय गर्ने वातावरणलाई थप संकटमा पार्ने उल्लेख छ।
महासंघले स्थानीय जनप्रतिनिधि र व्यवसायीबिच संवादको माध्यमबाट विवाद समाधान गर्नुपर्नेमा जोड दिँदै मञ्जु लामाको शीघ्र रिहाइको माग गरेको छ। साथै दोषीमाथि कानुनी कारवाहीको माग गर्दै निर्माण कार्य अबरुद्ध नहुने गरी आवश्यक वातावरण सिर्जना गर्न सम्बन्धित निकायलाई अपिल गरिएको छ।
प्रतिक्रिया