images

अरुणिमा–विकल अन्तर विद्यालयस्तरीय स्थलगत बाल चित्रकला प्रतियोगिता सम्पन्न, विद्यार्थीहरुको उत्साहजनक सहभागिता

भाद्र २१, काठमाडौं । विद्यार्थीहरुको उत्साहजनक सहभागिताबीच गोकर्णेश्वर आरुबारीस्थित नव अरुणिमा मा.वि.मा अरुणिमा–रमेश विकल अन्तर विद्यालयस्तरीय स्थलगत बाल चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कुशल चित्रकार समेत रहनु भएका वरिष्ठ आख्यानकार रमेश विकलको स्मृतिमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के. के. कर्माचार्य सहभागी हुनु भएको थियो । कार्यक्रमममा अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगाना, नवअरुणिमा मा. वि. का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद बरालले लगायतले कार्यक्रमको पृष्ठभूमि माथि प्रकाश पार्नु भएको थियो । अरुणिमा शैक्षिक प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछाने, रमेश विकल साहित्य प्रतिष्ठानका सचिव आलोक चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राजिब थापा र अन्य प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा भएको कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत २९ विद्यालयका ५६ जना विद्यार्थीहरू सहभागी थिए । सहभागी विद्यार्थीहरूको चित्रकलाको मूल्याङ्कन सृजना कलेज अफ फाइन आर्टस्का निर्णायकद्वय प्राध्यापक कृष्ण गोपाल श्रेष्ठ र भिजुयल आर्टिष्ट सम्झना राजभण्डारीले गर्नुभयो । प्रतियोगिताका विजयी विद्यार्थीहरू (प्रथम– सम्झना तामाङ, जिनियस ईङ्लिस स्कूल, द्वितीय– स्वीकृति तामाङ, अरुणिमा मा. वि., तृतीय– युजधोज थापा, शिक्षालय नेपाल, चतुर्थ– रश्मि श्रेष्ठ, हिमशृंखला एकेडेमी र निर्णायक प्रोत्साहन पुरस्कार लोमस पुडासैनी, द सेलिब्रेसन को.एड.) लाई प्रमाण पत्र, ट्रफी, मेडलसहित पुरस्कार वितरण गरियो । प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिइने अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगानाले जानकारी दिनुभयो ।

आइतबार​ २१ भदौ २०८३ ०५:४२ PM मा प्रकाशित

प्रतिक्रिया