मधेस प्रदेशमा १५ जनाको जम्बो मन्त्रिपरिषद् गठन

जनकपुर - मुलुकका ७ वटा प्रदेश मध्ये सबैभन्दा बढी मन्त्रालय भएको प्रदेशको रुपमा मधेस प्रदेशले आफूलाई चिनाउने भएको छ ।

माओवादीवाट उद्योग, पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहवर अन्सारीले सपथ लिएसँगै मधेस सरकारको मन्त्रिमण्डल १५ सदस्सीय पुग्ने भएको हो ।

यसअघि भागबन्डामा कुरा नमिलेपछि सरकारमा सहभागी नभएको माओवादी केन्द्रवाट २ जना सहभागी हुने सहमति भएको छ । सहमति भएसँगै आजै नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण १ बजे राखिएको माओवादी संसदीय दलका नेता भरतकुमार साहले जानकारी दिए । जनता समाजवादी पार्टी नेपाल जसपा नेपालका सरोजकुमार यादवले नेतृत्व गरेको मन्त्रिमण्डल यसअघि २० माघमा विस्तार हुदाँ १३ सदस्य मन्त्रिमण्डल थियो ।

माओवादी मन्त्रीसमेत जसपा सरकारमा सहभागी हुने भएपछि मधेस प्रदेशमा ११ जना मन्त्री र ४ जना राज्य मन्त्री रहने छन् । जुन संघीय सरकारका पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार भन्दा ४ जना कमी मात्रै हो । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारवाट बाहिरिए पछि प्रचण्ड सरकारमा हाल १९ जनाको मन्त्रिमण्डल रहेको छ ।