फागुन २५ मा राष्ट्रपतिको निर्वाचन हुँदै, प्रमुख दलहरुबीच बढ्दो अविश्वास !

 काठमाडौँ - निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्ता गर्नुपर्छ ।  फागुन २५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । अहिलेसम्म नेकपा एमाले र नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने सार्वजनिक गरेका छन् ।

पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेले राष्ट्रपति र सभामुख एमालेले दिने सहमति भएको थियो। सोही सहमति अनुसार एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने तय भएको छ । तर, पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले माओवादीले सघाउने अपेक्षासहित राष्ट्रपति पदमा आफ्नो उम्मेदवार उठाउने र जिताउने बताउँदै आएको छ ।

कांग्रेसको अपेक्षालाई सघाउने किसिमले माओवादी केन्द्रले राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमति खोज्ने, त्यसो हुन नसके विचार मिल्ने दलसँग सहकार्य गर्ने निर्णय गरेको छ । माओवादीको निर्णयले एमाले झस्किएको छ भने कांग्रेस हौसिएको छ । कांग्रेस र एमालेले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए पनि अहिले गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने आवाज पनि उठ्न थालेको छ ।