लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ, नियुक्त भएका मन्त्री पनि विना विभागीय

 देउखुरी - लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । पुस २८ गते शपथ लिएसँगै मुख्यमन्त्री लीला गिरीले सोही दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए ।

मन्त्री बनेका अन्य दुईजना पनि बिना विभागीय रहेका छन् । नेकपा एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी बिना विभागीय मन्त्रीको रुपमा रहेका छन् । पुस २७ गते नियुक्त मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट माघ ५ गते विश्वासको मत लिएका थिए ।

विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहे पनि सत्ता साझेदार दल माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मातृशोक परेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।

मुख्यमन्त्री गिरीको सचिवालयका अनुसार राष्ट्रियसभाको निर्वाचनपछि सरकार विस्तार गर्ने तयारी छ । रिक्त राष्ट्रियसभाको निर्वाचन लुम्बिनी प्रदेशमा भोलि बुधबार हुँदैछ। माओवादी केन्द्र संसदीय दलका नेता महराले पनि राष्ट्रियसभाको निर्वाचनपछि मात्र सरकारले पूर्णता पाउने बताइ ।