राष्ट्रपति निर्वाचनः प्रचण्ड, ओली र देउवा अझै अलमलमै

काठमाण्डौँ - राष्ट्रपति चयन ‘राष्ट्रिय सहमति’मै गर्ने विषयमा शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । यद्यपि, उनीहरू आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै गर्न पहल थालेका हुन् । सोमबार सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तासाझेदार नेपाल कम्युनिस्ट पार्टी ९एमाले० अध्यक्ष केपी शर्मा ओलीका बीचमा छलफल भएको छ ।

राष्ट्रपति निर्वाचन, सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य किरणले बताए । राष्ट्रिय मुद्दा एवं अन्य विषयमा समेत आन्तरिक सहमतिमै अगाडि बढ्नेबारे छलफल भएको छ ।

माओवादी सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै गर्नुपर्ने विषयमा छलफल भएको बताए । उनका अनुसार राष्ट्रपतिको चयन, संक्रमणकालीन न्याय, सुरक्षासहित पछिल्लो राजनीतिबारे शीर्ष नेताबीच छलफल भएको छ ।

‘राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै गर्न प्रधानमन्त्रीले प्रस्ताव गरेका छन् । यस्तै, संक्रमणकालीन न्यायलगायत विषयमा समेत छलफल भयो,’ माओवादी सचिव पौडेलले भने, ‘शीर्ष नेताबीच छलफल सुरु भएको छ । सबैले आ–आफ्नौ कुरा राख्ने र सुन्ने काम भएको छ, ठ्याक्कै यही नै भन्ने सहमति हुन सकेको छैन ।’

राष्ट्रपति निर्वाचनलाई लिएर प्रमुख तीन दलको आ–आफ्नै रणनीति छ । माओवादीले राष्ट्रिय सहमतिमा गर्नुपर्ने पक्षमा उभिँदै आएको छ । एमालेले सत्तारूढ दलबीच भएको सहमतिअनुसार एमालेले पाउनुपर्ने र कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै माओवादीलाई आफ्नो पक्षमा खुलाउने रणनीतिमा छ । राजधानी दैनिकबाट