images

अजित मिजार हत्या प्रकरण : न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

काठमाडौं । बिजातीय प्रेम विवाह गरेकै कारण रहस्यमय हत्या गरिएका काभ्रेका अजीत मिजारले लामो समयदेखि न्याय पाएका छैनन् ।  १० बर्षदेखि न्यायको ढोका ढकढकाई रहेको मिजार परिवारले नयाँ सरकारसँग न्यायको आशा गर्दै पुनः फरेन्सिक परीक्षण गर्न माग गरेको छ ।  शुकबार अजितका बुवा हरिभक्त ढकाल (मिजार) र आमा काली मिजारले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मन्त्री सीता बादी तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारसँग भेटेर न्यायको याचना गर्दै अजितको शवको पुनः फरेन्सिक परीक्षण गर्न माग गरेका हुन् ।

अन्तरजातीय विवाहको विषयलाई लिएर २०७३ सालमा अजित मिजारको रहस्यमय हत्या भएको थियो । अजितको शव अहिले पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।  न्याय नपाएसम्म शव नबुझ्ने अडानमा रहेका मिजार दम्पतीले शुक्रबार मन्त्रालयमा भएको छलफलका क्रममा नयाँ सरकारले न्याय दिलाउने आशा रहेको सुनाए । उनीहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन र निष्पक्ष छानबिन सुनिश्चित गर्न अजितको शवको फरेन्सिक (विधि विज्ञान) परीक्षणको व्यवस्था मिलाइदिन मन्त्री बादी र सचेतक परियारसमक्ष माग राखे । 

सो क्रममा मन्त्री सीता बादी र सचेतक प्रकाशचन्द्र परियारले मिजार परिवारको पीडाप्रति पूर्ण सहानुभूति प्रकट गर्दै न्याय दिलाउने प्रक्रियामा राज्यका तर्फबाट आवश्यक सहयोग र पहल गर्ने आश्वासन दिएका छन् । काभ्रेका अजितको शव धादिङको गजुरी गाउँपालिकास्थित ठाँटीमा फेला परेको थियो। प्रहरीले परिवारलाई जानकारी नै नदिइ शव उठाएर गाडेको थियो । पछि परिवार र अधिकारकर्मीको दबाबपछि शव उधिनेर पोष्टमार्टम गरिएको थियो ।

अजित हत्याको विषयमा जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगिसकेको छ । तर प्रहरीकै मिलेमतो र प्रमाण संकलनमा कमजोरीका कारण आरोपितहरूले सफाइ पाएका छन् । पीडित परिवारले सर्वोच्च अदालतमा पुनः फरेन्सिक परीक्षणको माग गरेपनि त्यसअनुसार हुन सकेको छैन ।

शुक्रबार​ २२ साउन २०८३ ०७:११ PM मा प्रकाशित

प्रतिक्रिया