काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार विभिन्न पदमा दर्ता भएका उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको हो । प्रकाशित नामावलीअनुसार सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपसभापति एक पदका लागि भने विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमा वरिष्ठ उपसभापतिमा शर्माको एकल उम्मेदवारी परेको उल्लेख छ । निर्वाचन समितिका अनुसार प्रथम नामावलीमा कुनै दाबी–विरोध वा आपत्ति भएमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सकिनेछ । दाबी–विरोध तथा आपत्तिको प्रक्रिया पूरा भएपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ । सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भएपछि अब निर्वाचन समितिले दाबी–विरोधको प्रक्रिया पूरा गरी अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्नेछ ।
प्रतिक्रिया