राष्ट्रपतिका लागि विश्वासको मत खोज्दै कांग्रेस

काठमाडौँ - आगामी २५ फागुनमा हुने तय भएको राष्ट्रपति निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवार उठाउने निर्णय गरिसकेको कांग्रेसले एकपछि अर्को गर्दै आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरिरहेको छ । गत २६ पुसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेसले त्यसयता एकपछि अर्को गर्दै नेकपा माओवादी केन्द्रलाई विश्वासमा लिने प्रयास जारी राखेको हो ।

कांग्रेसले सोमबार भएको राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागिसमेत आफ्नो दलका तर्फकाट उम्मेदवार नउठाई माओवादी केन्द्रकै उम्मेदवारलाई घुमाउरो रूपमा समर्थन गरेसँगै राष्ट्रपतिका लागि कांग्रेसले थप वातावरण बनाएको हो ।

राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिँदा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी हुन् ।

यसअघि कांग्रेसले मधेस प्रदेशमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादव र बागमती प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई पनि साथ दिइसकेको छ । यस्तै, प्रदेश १ मा कांग्रेसले उम्मेदवारी नदिएपछि माओवादी केन्द्रका बाबुराम गौतम सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।