बाग्लुङ–बेनी सडक खण्ड : जताततै खाल्डाखुल्डी, यात्रुलाई सास्ती

बाग्लुङ - बाग्लुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडककाे अवस्था जीर्ण भएकाे छ । याे सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको छैन । कालोपत्र उप्किएको छ । 

बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ । तर बाढी र पहिराेले कालोपत्र बगाएको छ । रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको कालोपत्र उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती भएको छ । सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको भए पनि सडकको अवस्थामा खासै सुधार आउन सकेको छैन । 

यस्तै रत्नेचौरबाट खबरासम्मको चार किलोमिटरमध्ये तीन किलोमिटर सडक २०७६ मा कालोपत्र गरिएको हो । वर्ष दिन नपुग्दै त्यो पनि उप्किएको छ । बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती हुने स्थानीय सुरज सापकोटा बताउनुहुन्छ । 'गुणस्तरीय काम हुन सकेको छैन', उहाँले भन्नुभयो । कुडुँलेमा नाली छ, तर सडक कालोपत्र भएकाे छैन । रत्नेचौरमा कालोपत्र गरिएको सडकमा नाली मर्मत गर्नुपर्ने अवस्थामा छ । 

बर्सेनि मर्मतसम्भार गर्दैआए पनि पूरै नयाँ बनाउन बजेट अभाव रहेको सडक डिभिजन कार्यालय बाग्लुङका सूचना अधिकारी कृष्णबहादुर खड्का बताउनुहुन्छ । 'मर्मतका लागि बर्सेनि न्यून बजेट आउँछ', उहाँले भन्नुभयो । रत्नेचौरबाट बेनीसम्मको सडक पूर्वाधार कार्यालयअन्तर्गत रहेको खड्काको भनाइ छ । बाङ्गेचौरबाट रत्नेचौरसम्म सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको छ । 

'सडक कालोपत्र गर्न बजेट माग गरेका छौँ', उहाँले भन्नुभयो । रत्नेचौरबाट बेनीको खबरासम्मको चार किलोमिटर कालोपत्र गर्ने काम  २०७४ देखि थालिएको हो । अझै त्याे काम सम्पन्न हुन सकेको छैन । १२ करोड १७ लाख रुपैयाँको लागतमा कालोपत्रको ठेक्का नागार्जुन देव एण्ड सायर बीएन जेभीले लिएको छ ।