आजको मौसम : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

काठमाण्डौँ - देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहनेछ ।

विभागका अनुसार तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्नेक्रम जारी रहने हुनाले दैनिक जनजीवनमा प्रभाव पार्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । त्यस्तै, माघ २७ गते शुक्रबार पनि प्रदेश १, बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली कायमै रहने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने विभागले जनाएको छ । सोहीअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ । 

यसैबीच, माघ २८ गते शनिबार पनि देशका पहाडी भूभागमा सामान्य बदली कायमै रहने छ । विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी भूभागमा सो दिन हल्का हिमपातको सम्भावना छ । बाँकी भूभागमा मौसम सफा रहने छ ।