माओवादीको उपाध्यक्ष पदमा अग्नि सापकोटा र पम्फा भुसाल !

 काठमाण्डौँ - नेकपा माओवादी केन्द्रले अग्निप्रसाद सापकोटालाई पार्टीको उपाध्यक्ष बनाएको छ । सापकोटा यसअघि सभामुख थिए। सभामुखबाट हटेसँगै उनी फेरि पार्टी राजनीतिमा सक्रिय भएका हुन् ।

माओवादीले पम्फा भुसाललाई पनि उपाध्यक्ष बनाएको छ । महाधिवेशनपछि पदाधिकारी चयन गरिँदा भुसाललाई उपमहासचिव बनाइएको थियो । 
माओवादीले बुधबार सर्कुलर जारी गर्दै सापकोटा र भुसाललाई उपाध्यक्ष बनाइएको उल्लेख गरेको छ । माओवादीमा नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष छन् । उपमहासचिवमा भने हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत छन् ।

त्यसैगरी सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य छन् । कोषाध्यक्षमा श्रीराम ढकाल छन् । अब माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना पुगेका छन् ।