काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस सहरमा गैरकानुनी आप्रवासीहरूलाई लक्षित गर्दै गरिएको सरकारी छापामारीपछि स्थानीय प्रदर्शन चर्किएको छ । संघीय आप्रवासन तथा भन्सार प्रवर्तन विभाग ९क्ष्ऋभ्० को कारबाहीको विरोधमा तीन दिनदेखि व्यापक प्रदर्शन जारी छ । प्रदर्शनकारीहरू विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले तैनाथ गरेका राष्ट्रिय गार्डले बल प्रयोग गरेपछि स्थिति थप तनावग्रस्त भएको छ । अश्रुग्यास प्रयोग गरी प्रदर्शनकारीहरूलाई हटाउने प्रयास भइरहेको छ । लस एन्जलसको मुख्य १०१ फ्रिउवे मार्ग अवरुद्ध गरेपछि सुरक्षा निकायले हस्तक्षेप गरेको हो । ट्रम्पले आफ्नो निर्णयको बचाउ गर्दै कानुन र व्यवस्थाको पुनःस्थापनाको लागि यो कदम आवश्यक रहेको बताएका छन् । तर, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले संघीय सैनिक हटाउन माग गरेका छन् । उनले ट्रम्पको कदमलाई ‘शक्तिको दुरुपयोग’ को संज्ञा दिएका छन् । शुक्रबारदेखि सुरु भएको प्रदर्शन शनिबार र आइतबार हिंसात्मक बन्दै गएको छ । दर्जनौं प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ भने केही प्रहरी अधिकारीसमेत घाइते भएका छन् । यता, लस एन्जलसमा रहेको एक आप्रवासी हिरासत केन्द्र नजिकै राष्ट्रिय गार्डका सैनिकहरूको बाक्लो उपस्थिति देखिएको छ । हालसम्म २९ जना प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ । स्थिति नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीहरूले थप सतर्कता अपनाएको जनाइएको छ । तर, मानवअधिकारवादी समूहहरू र स्थानिय समुदायले संघीय कदमलाई अनावश्यक र भड्काउने प्रकृतिको भन्दै विरोध जारी राखेका छन् ।
प्रतिक्रिया