काठमाडौं । नेकपा एमालेका तर्फबाट संखुवासभा प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा।अर्जुन कार्कीले जिल्लाको दिगो विकासका लागि जलस्रोत, पूर्वाधार, पर्यटन र स्थानीय रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।चुनावी अभियानका क्रममा भोटखोला संखुवासभामा आयोजित कार्यक्रममा बोल्दै डा। कार्कीले जलस्रोतको हिसाबले संखुवासभा मुलुककै धनी जिल्लामध्ये पर्ने उल्लेख गरे ।उनले जलस्रोत विकास गर्दा स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने मोडेल अपनाउनुपर्नेमा जोड दिए । ‘यहाँका जलस्रोतको विकास गर्दा स्थानीय जनतालाई शेयर उपलब्ध गराएर उनीहरूलाई नै सबभन्दा बढी फाइदा हुने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।डा।कार्कीले जिल्लामा निर्माण भइरहेका भौतिक पूर्वाधार, विशेषगरी ग्रामीण सडकलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने आवश्यकता औंल्याए ।उनले चतरा–लेगुवा घाट हुँदै अरुण नदीको किनारैकिनार किमाथंकासम्म र त्यहाँबाट लासासँग जोडिने दक्षिण एसियाकै महत्वपूर्ण अन्तर्राष्ट्रिय राजमार्ग निर्माण गर्न सकिने सम्भावनाबारे धारणा राखे । ‘यदि यस्तो अन्तर्राष्ट्रिय स्तरको राजमार्ग निर्माण भयो भने संखुवासभा अन्तर्राष्ट्रिय बजार र पर्यटनको केन्द्र बन्न सक्छ,’ उनले बताए ।मकालु–बरुण संरक्षण क्षेत्रलाई विश्वकै ठूलो पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्दै डा। कार्कीले स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए ।उनले अन्तर्राष्ट्रिय पर्यटक, जैविक विविधता तथा अनुसन्धानमा संलग्न विज्ञहरूलाई आकर्षित गर्न सके जिल्लामात्र होइन, समग्र देशको आर्थिक र सामाजिक विकासमा योगदान पुग्ने उल्लेख गरे ।यसैगरी, उनले संखुवासभामा पाइने जडीबुटी र अन्य स्थानीय उत्पादनको व्यावसायिक विकास गरी गाउँ–गाउँमा साना उद्योग स्थापना गर्ने र घर–घरमा रोजगारी सिर्जना गर्ने एमालेको योजना रहेको बताए । “स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नै हाम्रो लक्ष्य हो,” उनले भने ।डा। कार्कीले संखुवासभाको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको भन्दै मतदातासँग सहयोग र समर्थनको आग्रह पनि गरेका छन् ।
प्रतिक्रिया