काठमाडौँ - निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले यस निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।
संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१८ मतभार पाएका थिए ।