काठमाडौँ - तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ–सियान रुटमा सिधा उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले असार २८ गतेदेखि हप्ताको दुई दिन काठमाडौँ उडान गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने “कोरोना महामारीअघि काठमाडौँमा चार्टर उडान गर्दै आएको तिब्बत एयरलाइन्सले अब नियमित उडानको अनुमति पाएको छ । सियानबाट अब हरेक आइतबार र बिहीबार काठमाडौँ नियमित उडान हुन लागेको हो ।”
तिब्बत एयरलाइन्सले कोरोनाअघि चीनको छेन्दुबाट काठमाडौँमा चार्टर उडान गर्दै आएको थियो । कम्पनीले शनिबार पनि काठमाडौँमा चार्टर उडान गरेको छ ।
त्यस्तै कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडानको तयारी गरिरहेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जजिराले भदौको पहिलो सातादेखि पुनः उडान सुचारु गर्ने तयारी रहेको छ । हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमले हङकङ र दिल्ली जाने यात्रुलाई लक्षित गरेर उडान गर्दै आएको छ ।निगमले हरेक मङ्गलबार काठमाडौँ–मलेसिया–भैरहवा–काठमाडौँ उडानमार्फत भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रु लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उडान गर्दै आएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले गत वर्ष जेठ २ गते पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।