images

गैडाटारमा जंगली हात्तीले केरा माडेर नष्ट

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं। ३ गैडाटारमा जंगली हात्तीले आतंक मच्चाएको छ ।  केही दिनदेखि गैडाटार गाउँ आसपासको क्षेत्रमा जंगली हात्ती देखा परेको हो । बस्ति नजिकमा देखा परेको हात्तीले केरा तथा अन्य बाली खानुको साथै माडेर नष्ट पारिदिएको छ । प्राय ः दिनँहु हात्तीले दुख दिँदा र बालिनाली नष्ट गर्दा पनि सम्बन्धित निकायले नियन्त्रणमा चासो नदिएको स्थानिय सम्पूर्ण चौहानको आरोप छ । हात्तीले पटक–पटक गरेर करिब एक बिघामा लगाएको केराखेती नष्ट गरेको उनले जानकारी दिए । सो गाउँका हरिशरण गौतमको १३ कट्ठामा लगाएको चार सय बोट, दीपक गौतमको ८० बोट, सम्पूर्ण चौहानको दुई सय ५५ बोट र अनिल भण्डारीको ५० बोट केरा नष्ट गरेको छ । हात्तीले मकैबारी,  केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेपछि वरपरका बासिन्दा रातभर त्रासमा बस्ने गरेको उनको भनाइ छ । गाँउ नजिकै रातिको समयमा हाति देखा पर्न थालेपछि रातैभर सुत्न समेत नपाएको गाँउलेहरुको गुनासो छ । डिभिजन वन कार्यालय रौतहटले जङ्गली हात्ती हिँड्ने सम्भावित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।  यसअघि  हात्तीको आक्रमणबाट मानवीय क्षतिका घटना भएकाले बिहान झिसमिसेमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । वन कार्यालयले बिहानीपख निस्कनै पर्ने भए टर्च लाइट बोकेर समूहमा मात्र हिँड्डुल गर्न सुझाव दिएको छ । डिभिजन वन कार्यालय रौतहटका अनुसार पछिल्ला केहि बर्षमा हातिको आक्रमणबाट मानव, घर वा बालिनालीमा क्षति हुँदै आएको छ ।
 

शनिबार २७ पुस २०८१ ०९:१३ AM मा प्रकाशित

प्रतिक्रिया