काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्र आईसकेपछि पनि राजतन्त्रको ऐन कानूनमा बाचिरहने देश भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित दूरसञ्चार उद्योगलाई पुनजीवित गर्दै राजस्व, प्रविधि र दिगोपना कार्यक्रममा उनले देश विकास गर्ने हो भने काम गर्ने शैली, तरिका बाङ्गिएका पुराना भएका नीति, कानून बदल्नुपर्ने बताए । उनले भने, ‘हाम्रो पुलिस, सेना, एपिएफ, अदालत, संसद, मन्त्रालयहरु लगायत विभिन्न संस्थाहरु सबै छ तर यसको नीतिको हिसाबले भन्ने हो भने गणतन्त्र आईसक्यो राजतन्त्रको ऐन कानूनमा बाचिरहने देश हो । त्यसकारण हामीले के गर्नुपर्यो भने हाम्रो काम गर्ने शैली, तरिका बाङ्गिएका पुराना भएका नीति, कानून बदल्नुपर्छ । हाम्रो विकास गर्ने हो भने त्यो काम गर्नुपर्छ ।’यसको साथै, उनले आजको प्रविधिको हिसाबमा अगाडि बढ्नु पर्ने भन्दै त्यसको लागि ऐन, नीति सबैको समिक्षा गरेर अगाडि बढ्नु पर्ने बताए । उनले भने, ‘हाम्रो क्षेत्रको नाफा घट्दै गईरहेको छ । हामी समयानुकुल चल्नु पर्छ । आजको प्रविधिमा जुन हिसाबको विकास भएको छ त्यो हिसाबले चल्नु पर्छ । त्यसकारण ऐन, नीति सबैको समिक्षा हुन्छ र त्यसपछि नियम, विनियममा पनि समिक्षा हुन्छ । र जुन जनशक्ति चलिरहेको थियो त्यसले अब काम हुदैँन् ।’दूर सञ्चार ऐनलाई ड्राफ्ट गरेर संशोधनको लागि अन्तिम चरणमा पुगेको भन्दै अब केही समयमा सदनमा पेश हुने पनि उनले जानकारी दिएका छन् । उनले भने, ‘हाम्रो नीतिमा पुनविचार गर्नुपर्ने छ, त्यो पनि गर्दै छौ । हाम्रो कानून जुन छ दूर सञ्चार ऐन त्यसलाई ड्राफ्ट गर्दै छौ । संशोधनको लागि अन्तिम चरणमा पुगेको छ । तपाईहरुसँग छलफलमा बसेर यसलाई संसदमा पेश गर्नुपर्छ । अस्वभाविक, अव्यवहारिक देखिएको कुराहरुलाई सुधार गर्नुपर्ने छ । त्यसैको आधारमा हाम्रो नीति र नियमावलीहरु बनाउनु पर्ने छ ।’
प्रतिक्रिया