images

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

सुर्खेत । सामुदायिक जङ्गलमा मृत अवस्थामा भेटिएकी सुर्खेत गुर्भाकोटकी १६ वर्षीया इनिशा विकको बलात्कार पछि हत्या भएको निश्कर्षमा प्रहरी पुगेको छ । पोस्टमार्टम रिर्पोट र पीडकको बयानपछि बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको हो ।हत्यामा संलग्न भएको आशंकामा फागुन २३ र २४ गते प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । इनिशाको पोस्ट मार्टम रिपोर्टमा गोप्य अंगमा घाउ भएको, उच्च रक्तस्राव भएको देखिएकोले बलात्कारपछि उनको मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए ।उनले भने, ‘पक्राउ परेकाहरूको बयान भई रहेको छ । पोस्ट मार्टम रिपोर्टमा पाठेघर च्यातिएको र अत्यधिक रक्तस्रावपछि उनको मृत्यु भएको हुनसक्छ ।’मृतक इनिशा र पक्राउ परेका चारजना मध्ये एकजना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश अस्पताल, काला गाउँका तीनजना चिकित्सकसहित भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा। अर्विन शाक्यले तयार पारेको पोस्टमार्टम रिपोर्ट बुधबार आएको छ । जबरजस्ती करणीले मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको डा। शाक्यले जानकारी दिए ।फागुन २३ गते बिहान घरबाट निस्किएकी इनिशा अबेरसम्म घर नफर्किएपछि आफन्तले उनको खोजी गरेका थिए । सोही दिन बिहान ९ बजे वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा इनिशा बेहोस अवस्थामा भेटिएकी थिइन् ।उनीसँगै रहेका वीरेन्द्रनगर–९ का एक युवकलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएका छन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा गौलीसहित थप चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा शािनबार बिहान प्रयोगात्मक छ भनेर घरबाट निस्किएकी थिइन् । बिहान ८ बजेसम्म घर आउने भनेर गएकी इनिशा ९ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै ‘तपाईँकी छोरी शहीद पार्कको जङ्गलमा बेहोस अवस्थामा छिन्’ भन्दै जानकारी दिएको इनिशाकी आमाले जानकारी दिइन् ।घटनास्थल इनिशाको रक्ताम्मे शरिर, कपाल लुछिएको, घाँस मडारिएको र एकातिर जुत्ता तथा अर्कोतिर मोजा परेको अवस्थामा भेटिएको देखेपछि आफुपनि बेहोस् भएको इनिशाकी आमाले बताइन् । इनिशाको सामुहिक बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका आफनतले गरेका छन् । उनका आफन्तले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी मोहनजंग बुढथापाका अनुसार प्रारम्भिक अनुसन्धानबाट इनिशामाथि बलात्कारपछि मृत्यु भएको देखिएको छ ।घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै १८ वर्षमुनिका नाबालक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । इनिशाको हत्या भएको भन्दै आफन्तले दोषिलाई कारबाही नभएसम्म सब नबुझने अडान लिएका छन् ।

बिहीबार २८ फागुन २०८२ ११:३८ AM मा प्रकाशित

प्रतिक्रिया