इजरायलमा इतिहासकै ठूलो आन्दोलन, सरकार तानाशाही बन्न लागेको आरोप

एजेन्सी - इजरायलमा इतिहासकै ठूलो आन्दोलन भएको छ । न्यायिक प्रणालीमा आमूल परिवर्तन गर्ने सरकारको योजनाको विरोधमा १० हप्तादेखि भइरहेको प्रदर्शनमा सयौँ हजार व्यक्ति सडकमा पुगेर विरोध जनाएका बीबीसीले जनाएको छ ।

हाइफा जस्ता शहरहरूमा प्रदर्शनकारीहरूको संख्यामा नयाँ रेकर्ड बनेको छ । राजधानी तेल अवीवमा मात्रै शनिबार २ लाख जना सडकमा उत्रिएका छन् । नयाँ न्यायिक प्रणालीले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै नागरिक सडकमा उत्रिएका हुन्।

तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारले योजनाबद्ध परिवर्तनहरू मतदाताका लागि राम्रो भएको जिकिर गरेको छ । शनिबार मात्रै देशभरका सहरमा ५ लाख जना आन्दोलनमा सहभागि भएको नेतृत्वकर्ताले बताएका छन् । जसलाई इजरायली हारेट्ज अखबारले देशको इतिहासमा सबैभन्दा ठूलो प्रदर्शन भनेको छ।

विपक्षी नेता यायर लापिडले दक्षिणी सहर बेयर शेवामा भीडलाई सम्बोधन गर्दै देशले इतिहासमा सबैभन्दा ठूलो संकटको सामना गरिरहेको बताएका छन् । “आतंकवादको लहरले हामीलाई प्रहार गरिरहेको छ, हाम्रो अर्थतन्त्र ध्वस्त भएको छ, देशबाट पैसा पलायन भइरहेको छ। इरानले साउदी अरेबियासँग हिजो मात्रै नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ। तर यो सरकारले इजरायली प्रजातन्त्रलाई कुचल्ने मात्र कुरा हो,” उनले भने।