उपराष्ट्रपतिमा ३ जना उम्मेदवार कायम

काठमाडौँ - चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गराएका ४ जनामध्ये ३ जनाको उम्मेदवारी कायम भएको छ ।

जसपाले महिला र पुरुष गरी दुई उम्मेदवार उठाएकोमा प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएपछि एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य,जसपा उम्मेदवार रामसहाय प्रसाद यादव र जनमत पार्टीकी उम्मेदवार ममता झा प्रतिस्पर्धामा छन् ।

स्रोतका अनुसार उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसादको उम्मेदवारी कायमै रहने निर्णय आयोगले गरेपछि जसपाले प्रमिला यादवलाई उम्मेदवारी झिक्न लगाएको हो । सत्ता गठबन्धनका अझै दुई उम्मेदवार मैदानमा छन् । यद्यपि, साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय बाँकी छ ।

शनिबार नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएका उम्मेदवारहरूमध्ये जसपाका २, नेकपा एमाले र जनमत पार्टीका १(१ उम्मेदवार थिए । त्यसमध्ये जसपा उम्मेदवार रामसहायप्रसादको उम्मेदवारी विरुद्ध दाबी विरोधअन्तर्गत उजुरी परेको थियो ।

एमालेबाट उम्मेदवार रहेकी शाक्य र जनमत पार्टीकी उम्मेदवार झाले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने र यादवको उम्मेदवारी संविधान विपरीत भएको भन्दै दाबी विरोध पेश गरेकी थिइन् ।