पोखरा । पर्यटकीय राजधानी पोखरामा आजदेखि २० औं फेवा नव वर्ष महोत्सव २०८२ शुरु हुदैछ । होटल संघ पोखरा नेपालले हरेक वर्ष नेपाली नयाँ वर्ष शुरुवातका अवसरमा आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवको २० औं संस्करण पोखरामा शुरु हुन लागेको हो । २० औं फेवा नव वर्ष महोत्सव २०८२ आजदेखि बैशाख १ गतेसम्म पोखराको खहरेचोकदेखि ड्यामसाइड विचको सडकमा आयोजना गरिने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । संघले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुबेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुती रहने उनले बताए । बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने उक्त महोत्सबमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक होटल संघ पोखरा नेपालले जानकारी दिएको छ । त्यस्तै महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने छन् । अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने संघका अध्यक्ष सुवेदीले सुनाए । प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । संस्थागत व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ । यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् । महोत्सवका अवसरमा स्थानीय खहरे र ड्यामसाइडबाट झाँकी निकालिने छन् । फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रा।ली, सह प्रायोजक वरुण वेभरेज लि।को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि। फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहनेछन् ।
प्रतिक्रिया