कोशीमा हस्ताक्षर सनाखत आज

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दुई जनाको दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुखको कार्यालयले शनिबार सांसदहरूको सनाखत गराउने भएको छ । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्म हस्ताक्षरकर्ताको सनाखत गराउने जानकारी गराएको छ । प्रदेश प्रमुखको कार्यालयले दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्ने सबै सदस्यलाई परिचयपत्रका साथ उपस्थित गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “मुख्यमन्त्री पदमा नियुक्ति गरी प्रदेश सरकार गठन गर्न संविधानको धारा १६८ (५) बमोजिम आह्वान गरेको समयभित्र प्रदेश सभा सदस्यहरू इन्द्रबहादुर आङ्बो र केदार कार्कीले ४७/४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेकाले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय भएको छ ।”सरकार गठन गर्न कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले दिनुभएको समय सकिएलगत्तै मुख्यमन्त्री नियुक्तिको दाबी प्रस्तुत गर्नुभएका कांग्रेस सांसद केदार कार्कीसहित ४७ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भएर प्रदेश प्रमुखलाई तत्काल मुख्यमन्त्री नियुक्त गर्न दबाब दिनुभएको थियो । नेकपा एमालेका ३९ जना र नेपाली कांग्रेसका आठ जना सांसदको समर्थन भएकाले मुख्यमन्त्री नियुक्त गर्न सशरीर उपस्थित भएर उहाँहरूले प्रदेश प्रमुखलाई दबाब दिएपछि प्रदेश प्रमुखले हस्ताक्षर सनाखत गराउने निर्णय गर्नुभएको हो । गठबन्धन दलका शीर्ष तहमा भएको सहमति अनुसार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धन दलको समर्थनको पत्रसहित मुख्यमन्त्री दाबी गर्नुभएको थियो भने कांग्रेस सांसद कार्कीले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गर्नुभएको थियो । कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम यसअघि गठन भएको दुई वटा सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि उपधारा ३ अन्तर्गत ठुलो दलको हैसियतले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनेको थियो । कार्की नेतृत्वको सरकारले पनि भदौ २० गते विश्वासको मत पाउने आधार नभएपछि उहाँले पदबाट राजीनामा गर्नुभएको थियो । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम विश्वासको मत पाउने आधारसहित शुक्रबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । संविधानको यस धाराबमोजिम प्रदेश सभामा विश्वासको मत पाउने अवस्था भएको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यसैबिच शुक्रबार दिउँसो नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएका नेता केदार कार्की र उहाँको समर्थनमा हस्ताक्षर गर्ने सात जना सांसदलाई हस्ताक्षर फिर्ता गर्न आग्रह गर्ने निर्णय गरेको थियो । बैठकले गठबन्धनमा भएको सहमति कार्यान्वयन गर्न आग्रह गर्दै पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेको थियो । उक्त बैठकले केन्द्रीय समितिको निर्णयका आधारमा तत्काल बैठक बसेर आगामी कदम अघि बढाउन प्रदेश समितिका पदाधिकारीलाई अधिकार दिने निर्णय पनि गरेको थियो । यद्यपि पार्टी प्रदेश समितिको उक्त निर्णयलाई असन्तुष्ट समूहले महत्व दिएको छैन ।