रामेछाप । रामेछापका ग्रामीण भेगमा आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको आकर्षण बढेको छ ।वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले गाउँ–गाउँमा सञ्चालन गर्ने गरेको स्वास्थ्य शिविर तथा टोल टोलमा स्वास्थ्य सेवा घरदैलो कार्यक्रममा सेवा लिनेहरूको उपस्थितिले आयुर्वेद उपचार प्रतिको नागरिक आकर्षण देखाएको हो ।चिकित्सालयले शनिबार जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा २ सय भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएका छन् । बिरामीहरूको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुखदीपककुमार कार्कीले जानकारी दिए ।गोकुलगंगा गाउँपालिकाको सहजिकरणमा भएको सो शिविरमा डा। सविता भण्डारी, डा। उत्तम गैरे, डा।अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मीले सेवा दिएका थिए । शिविरमा दम, हाडजोर्नीको दुखाई, ग्यास्टिक, खोकी, एलर्जी लगायत छालाको विभिन्न पुराना रोगका बिरामीहरूको सङ्ख्या बढी देखिएको डा भण्डारीले जानकारी दिइन् ।गाउँमा नै शिविर सञ्चालन हुँदा आफूहरूलाई सेवा लिन निक्कै सहज भएको स्थानीयले बताएका छन् । स्थानीय पूर्णबहादुर कार्कीले हिँड्न नसक्ने जेष्ठ नागरिक, महिला लगायतलाई गाउँमा नै शिविर सञ्चालन हुँदा निक्कै राहत भएका बताए ।चिकित्सालयले स्थानीय तहको माग अनुसार जिल्लाका सबै क्षेत्रमा यस्ता शिविर सञ्चालन गर्ने योजना बनाएको चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नबराज पथिकले जानकारी दिए ।
प्रतिक्रिया