images

जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई

जनकपुर । जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा कडाई गरिएको छ ।जनकपुरधाम उपमहानगरपालिकाले आइतबारदेखि उपमहानगरमा दर्ता रहेको ई–रिक्सा बाहेकलाई नगर भित्र सञ्चालन गर्न नदिने नियम लागू गरेको छ ।
उपमहानगरपालिकाले धनुषा ट्राफिक कार्यालयको सहयोगमा नगरप्रहरी सहित अन्य ठाउँमा दर्ता भएको ई–रिक्सालाई जनकपुरधाममा प्रवेश गर्न र चलाउनमा निषेध गरेको छ ।जनकपुरधामको सडकमा बढ्दै गएको ई–रिक्साको संख्याले पैदलयात्रुसहित अन्य वाहनहरुलाई समस्या भोग्नु परेकोले यसलाई नियन्त्रण गर्न यो कदम उठाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिए ।उनले आइतबारदेखि चोकहरुमा माइकिङ्ग गरेर दर्ता नभएका टेम्पु, ई–रिक्सालाई परिक्रमा सडक तथा सडक भित्र प्रवेश निषेध गरिएको बारे जानकारी गराउन सुरु गरिएको बताए । उनका अनुसार उपमहानगरको निर्देशन विपरित कुनै ई–रिक्साले नगरभित्र प्रवेशगरेमा २ सय रुपैयाँ जरिवाना तिर्नु पर्नेछ ।

सोमबार २९ मंसिर २०८२ १०:३८ AM मा प्रकाशित

प्रतिक्रिया