images

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत सुरु

जनकपुर । नेपाल भारत सांस्कृतिक सेतुको रुपमा चिनिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत सुरु भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा आजदेखि सुरु भएको हो ।परिक्रमाको पहिलो दिन जनकपुरधामस्थित हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरु त्यसको भोलिपल्ट बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् ।परिक्रमामा सहभागीहरू क्रमशः फूलहरको गिरीजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन् ।हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ गरी कुल १३३ किलोमिटरको दूरीमा पैदल यात्रा गर्छन् । आजदेखि सुरु भएको परिक्रमाको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले डोला उठाएर गरेका छन् । सो क्रममा बोल्दै मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारले आगामी दिनमा रामायण सर्किटको कार्य विशेष पहलका साथ अगाडि बढाउने तर्फ लाग्ने जानकारी दिए ।उनले आफू स्वयम भारत गएर सरोकारवालाहरुसंग भेटघाट र छलफल गर्ने बताए । मुख्यमन्त्री यादवले अयोध्यालाई सिधा जनकपुरधामसंग जोड्नका निम्ति जनकपुरधाम विमानस्थल विस्तार गर्ने योजना प्रदेश सरकारको रहेको जानकारी दिए ।

सोमबार ४ फागुन २०८२ ११:२० AM मा प्रकाशित

प्रतिक्रिया