टोकियो – नेपाल पत्रकार महासंघ जापान शाखाको १५औँ स्थापना दिवस सम्पन्न भएको छ । सोही अवसरमा वरिष्ठ पत्रकार तिलक मल्ललाई ‘प्रवास पत्रकारिता पुरस्कार २०२६’ प्रदान गरिएको छ। टोकियोमा आयोजित एक विशेष समारोहमा कार्यक्रमका प्रमुख अतिथि तथा जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले मल्ललाई नगद ५० हजार येन र सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गरेका हुन्।
सन् १९९९ देखि जापानमा रहेर नेपाली पत्रकारितामा निरन्तर सक्रिय मल्ल समुद्रपारि डटकम अनलाइनका सञ्चालक तथा जापानबाट प्रकाशित ‘नेपाली समाचार’ पाक्षिकका प्रकाशक हुन्। उनी महासंघ जापान शाखाका संस्थापक अध्यक्ष समेत हुन्। पत्रकारितासँगै विभिन्न सामाजिक सेवाका कार्यमार्फत पनि मल्ल जापानमा परिचित छन्। रेमिट्यान्स सेवा प्रदायक कम्पनी फोरेक्स जापानले उक्त पुरस्कारको प्रायोजन गरेको थियो। स्थापना दिवसको अवसरमा जापानमा सञ्चालित नेपाली मिडिया तथा विभिन्न संघ–संस्थाबीच सहकार्यका विषयमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो। सोही अवसरमा ‘पत्रकार कल्याण कोष’ स्थापना गर्ने घोषणा समेत गरिएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रिय अध्यक्ष निर्मला शर्माले भिडियो सन्देशमार्फत स्थापना दिवसको शुभकामना व्यक्त गर्दै जापान शाखाले त्यहाँको नेपाली समुदायको हितमा अझ सक्रिय रूपमा काम गर्नुपर्ने सुझाव दिएकी थिइन्। कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, जापानस्थित नेपाली सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा मिडियाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
महासंघका अध्यक्ष रवीन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको समारोहमा उपाध्यक्ष लक्ष्मी पौडेलले स्वागत मन्तव्य राखेका थिए भने सचिव अर्जुन लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा जापानमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। सो अवसरमा जापानमा नेपाली पत्रकारिताको विकास, पत्रकारहरूको पेशागत एकता तथा सामाजिक संस्थाहरूबीच सहकार्य अभिवृद्धि गर्ने विषयमा अन्तरक्रिया समेत गरिएको थियो।
प्रतिक्रिया