डेट एक्सपाएर औषधि चढाउँदाको मृत्यु प्रकरण : ग्रिनसिटी अस्पतालको औषधि पसलमा विभागको छापा

काठमाडौँ - सामान्य ज्वरोको बिरामीलाई डेट एक्सपाएर औषधि चढाउँदा मृत्यु भएको भन्दै तोडफोड भएको बसुन्धाराको ग्रिनसिटी अस्पतालको औषधि फर्मामा औषधि व्यवस्था विभागले छापा मारेको छ । ज्वरो आएका बिरामी गोरखा बारपाक सुलिकोट ४ का ६१ वर्षीय लोकनाथ भट्टको सोमबार दिउँसो मृत्यु भएपछि मंगलबार छापा मारिएको हो ।

छापा मार्दा कुनै पनि ‘डेट एक्सपाएर’ औषधि नभेटिएको औषधि व्यवस्था विभागले जनाएको छ । म्याद नाघेका कतिपय औषधि हिजै राति लुकाइएको हुनसक्ने अनुमान छ ।

सोमबार अस्पताल परिसर र औषधि पसलमा तोडफोड भएको थियो। तोडफोडपछि अहिले अस्पतालको फार्मेसी सञ्चालनमा आएको छैन । म्याद गुज्रेको औषधि बिक्री गरेको आरोपमा एक जना फार्मासिस्ट सोमबारै पक्राउ परेका थिए । नियन्त्रणमा लिइएको व्यक्तिलाई औषधि व्यवस्था विभागलाई बुझाइएको छ ।